बुटवल

बुटवलको एक चर्चमा ‘मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भन्दै एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुन्धान थालेको छ । समाजमा भ्रामक सन्देश दिने त्यस प्रकारको गतिविधि विरुद्ध प्रहरीले सुश्म अध्ययन गर्ने जनाएको छ ।

विवेक सत्यालको नामबाट सार्वजनिक भएको २ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा चर्चका पास्टरले मृत व्यक्तिलाई जीवित गराएको दाबी गरेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले भिडियो सार्वजनिक गने फेसबुक एकान्टदेखि अध्ययन सुरु भएको जानकारी दिए । ‘जिल्ला प्रशासन कार्यालयबाट नै अनुन्धानका लागि आदेश आएपछि विहानैदेखि अध्ययनमा जुटेका छौं ।’–प्रमुख केसीले भने, थप कुरा अनुसन्धानपछि पत्ता लाग्ने छ ।

भिडियोमा होली क्यालभरी चर्चका पास्टर भनिने राजेन्द्र गोतामेले केही बेरमा भुइँमा सुतेकी महिला उठेर सरासर हिँडेको देखिन्छ । गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेको सुनिन्छ । भिडियोमा एक महिलाले ‘सयवटा धामीले पनि निको नभएको, पाँच/छ लाख खर्च गर्दा पनि निको नभएको’ लगायतका विषय बोलेको सुनिन्छ ।

१८ घण्टाअघि सार्वजनिक उक्त भिडियो यो समाचार तयार पार्दासम्म १ लाख ४८ हजारले हेरिसकेका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अप्रमाणित कुरा देखाएर समाजमा भ्रम छर्न नपाइने बताएका छन् ।