बुटवल
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले दलहरुले एमालेसँग एक्लै लड्न नसक्ने कुरालाई सार्वजनिक रुपमै स्वीकार गरेर वैशाखीको रुपमा गठबन्धन गरेको बताएका छन् । एमालेसँग एक्लै चुनावमा भिड्न कुनै पनि शक्तिको आँट नभएको दाबी गर्दै उनले आफ्नो खुट्टामा टेकेर चुनाव लड्ने पार्टी एमालेमात्र भएको बताए । उनले गठबन्धनको वैशाखी टेकेर एमालेसँग प्रतिष्पर्धा गर्न खोजेको बताउँदै त्यो पनि असफल हुने बताए ।
प्रेस चौतारी नेपाल, रूपन्देहीद्वारा शनिवार बुटवलमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले गठबन्धनको वैशाखी पनि संकटतर्फ धकेलिएको बताए । “हामीसँग चुनावी प्रष्तिपर्धा गर्न कसैको पनि आँट छैन”, पौडेलले भने, “गठबन्धनको सिनारिया” हेर्दा समस्यामा छ । एमाले एक्लै चुनाव लड्नेछ । निर्वाचनपछि एमाले एक्लै सरकार बनाउनेछ । त्यसको लागि सबै लाग्नुपर्ने अवस्था आएको छ ।” उनले स्थानीय तह निर्वाचनमा एमाले एक्लै लड्दा पनि धेरै जित निकालेको बताए । उनले आउँदो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी केन्द्रित हुन भातृसंगठनहरूलाई आग्रह समेत गरे । निर्वाचन सम्मुखमै आइसकेको बताउँदै पौडेलले एमालेका लागि अनुकूल नतिजा आउने गरी परिणाम निस्कने गरी आ–आफ्नो क्षेत्रबाट लाग्न आग्रह गरे ।

बुटवलमा निर्माणाधीन तिनाउँ दानव करिडोर प्रभावितको उचित व्यवस्थापन गरिने भन्दै त्यसप्रति कसैले भ्रम सिर्जना नगर्न आग्रह गरे । करिडोरमा पर्ने घरपरिवारलाई उनीहरूको इच्छाअनुसार चित्तबुझ्दो स्थानमा स्थानान्तर गर्ने बताउँदै पौडेलले सबैलाई ढुक्क हुन आग्रह गरे । एमाले काम गर्ने पार्टी भए पनि प्रचार गर्न नजान्दा त्यसको फाइदा विपक्षीले लिइरहेको उनको भनाइ थियो । उनले भने, “देशमा १६५ निर्वाचन क्षेत्रमध्ये रूपन्देही–२ विकासका हिसाबले सबैभन्दा अग्रभागमा छ । तर, हामीले ‘पोजेटिभ रेस्पोन्स’ पाउन सकिएको छैनौँ । हामीले अब प्रचारमा पनि बढी ध्यान दिनुपर्ने अवस्थामा आएकाे छ ।” एमालेले गरेका कामको जनतालाई सरल तरिकाले बुझाउन जरूरी रहेको नेता पौडेलले बताए ।

एमालेको विरोधकै कारण सरकार एमसीसी पारित गर्न पछि हट्न बाध्य भएको पौडेलले बताए । एमसीसी एमालेको विरोधकाबीच कांग्रेस र माओवादीले पास गरेको उनको भनाइ थियो । “नागरिकता विधयेक एमालेको विरोधकाबीच संसदबाट पास भयो”, उपाध्यक्ष पौडेलले भने, “तर यसको जस एमालेले होइन गठबन्धनले लिइहेको छ । हामीले सहज रूपमा बुझाउन सकेका छैनौँ ।”