काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूहरु १ सय दिनको दौडमा नरहेको बताएका छन् । उनले आफूहरुसँग ५ वर्षका लागि योजना रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरको रुपमा १०० दिनको कामको विवरण सार्वजनिक गर्दै आइतबार मेयर शाहले अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको भन्दै हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको बताएका छन् ।

‘हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ’ ।

उनले भनेका छन् । ‘हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौँ, त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरु गर्यौँ भनेर सूचि बनाउदैमा हामी सफल हुन सक्दैनौँ । यसैले १०० दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केहि सन्दर्भहरु सम्झिन जायज हुनेछ भन्ने लाग्छ’ ।