बुटवल
बुटवलको कालिका मानवज्ञान मावि, नविन औद्योगिक कदरबहादुर रिता मावि, कान्ति मावि तथा न्यूहोराइजन माविको लेखा शाखामा ताला लगाइएको छ । चर्को शैक्षिक शुल्क, छात्रावृत्ति वितरणमा अपार्दशिता, शैक्षिक सामग्री विक्रिमा सिन्धिकेट लगायतका विरुद्धमा बुटवलका सामुदायिक तथा संस्थागत विद्यालयमा ताला लगाइएको हाे ।
मँगलबार बिहान विद्यालयहरुमा आफ्ना माग सम्बोधन नभएको भन्दै विद्यार्थी संगठन क्रान्तिकारीले तालाबन्दी गरेको हो । बुटवल उपमहानगरपालिकाको शिक्षा शाखालाई बोधार्थ गराउँदै संगठनले माग पूरा नहुँदासम्म चरणबद्ध आन्दोलन जारी राख्नेगरी तालाबन्दी गर्ने जनाएको छ । संगठनका जिल्ला अध्यक्ष पारस राहदीले क्रमैसँग जिल्लाका अन्य पालिकाहरुमा समेत आफ्नो आन्दोलन र संघर्षका कार्यक्रमहरुलाई अगाडी बढाउने बताए ।
सामुदायिक विद्यालयहरुले अभिभावकहरुबाट सहयोग स्वरुप रकम लिन सक्ने भएपनि सोही बहाना बनाएर चर्को शैक्षिक सुल्क उठाउने गरेको उनको आरोप छ । यसैगरी राज्यले निशुल्क उपलब्ध गराउने शिक्षा जस्तो संवेदनशिल विषयमा विद्यालयहरुले मनोमानी शुल्क असुल्नुका साथै शैक्षिक सामग्रीहरु खरिदका लागि समेत एकै ठाउँबाट खरिद गर्नुपर्ने गरी अप्रत्येक्ष रुपमा सिन्धिकेट लगाइएको संगठनको आरोप छ । यसैगरी निजी शैक्षिक संस्थाहरुले महङ्गो शैक्षिक शुल्क लिनुका साथै विद्यालयमा अनिवार्य उपलब्ध गराउनु पर्ने शैक्षिक छात्रावृत्ति पारदर्शी नभएको आरोप लगाइएको छ ।
आन्दोलनमा रहेको क्रान्तिकारीले एक महिनाअघि आफ्नो विभिन्न शैक्षिक माग राख्दै सम्बन्धित स्थानीय निकाय तथा शैक्षिक संस्थाहरुसँग सहमती गरेको भएपनि सो अनुसार नभएपछि तालाबन्दी गर्नुपर्ने जिल्ला अध्यक्ष राहदीले बताए । आफ्ना शैक्षिक मागहरु सम्बोधन नुहँदासम्म चरणबद्ध आन्दोलन जाने बताउँदै उनले सांकेतिक रुपमा यहाँका ठूला शैक्षिकसंस्थाहरुबाट आन्दोलन सुरु गरिएको बताए ।
विद्यालयमा लागेका तालाबन्दी खुलाउनका लागि आन्दोलनरत पक्षसँग एक चरणको छलफल भइसकेको बुटवल उपमहानगरका शिक्षा शाखा प्रमुख मित्रमणी खनालले बताएका छन् । अन्दाेलनका मतृ पार्टी नेकपा बहुमतका जिल्ला संयोजक सुनिल बनजडेसँग आन्दोलनका बारेमा छलफल भएको उनले बताए । विद्यार्थीहरुले राखेका केही मागहरु जायज भए पनि ती मागहरु केन्द्रसरकार र नीतिगत सुधारका विषय भएको उनले बताए । आन्दोलनरत विद्यार्थी संगठनसँग पनि छलफलको तयारी रहेको खनालले बताए ।