भदौ २४, काठमाडौं । नृेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय नेता तथा नेपालको कम्युनिष्ट आन्दोलनका योद्धाको रुपमा लिइएका नेता चन्द्रबहादुर चन्द विरजंगको स्मृती ग्रन्थ प्रकाशनमा आएको छ । गत शुक्रबार एक कार्यक्रमको विच स्मृतिमा विरजंग नामक किताबको विमोचन र सार्वजनिकरण गरिएको हो ।
स्मृति ग्रन्थको सार्वजनिकरण कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्डले वीरजङ्गसहित अन्य सहिद तथा बेपत्ताहरुको सपना एकीकृत जनक्रान्तिको माध्यमबाट पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।
प्रवक्ता प्रकाण्डले साम्राज्यवादी दलालहरुले योजनावद्ध तरिकाले वीरजङ्गको ह’त्या गरेको आरोप लगाउदै जेलभित्र हुँदा अमानवीय तथा जंगली व्यवहार प्रदर्शन गरेर यातना दिएको बताए । उनले दुश्मनको यातनाका कारण स्वास्थ्यमा समस्या आएर वीरजङ्गको उपचारका क्रममा भारतको म्याक्स अस्पतालमा मृत्यु हुन गएपनि साम्राज्यवादी दलालहरुको षड्यन्त्र रहेको दावी गरे ।
कुशल, सक्षम र जनताको नेता वीरजङ्ग रहेको स्पष्ट पार्दै उनले भावुक मुद्रामा नेता वीरजङ्गप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै घर परिवार, सिंगो पार्टी पंक्तिप्रति समवेदना व्यक्त गरे । प्रवक्ता प्रकाण्डले भने, “नेपालमा एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद ल्याएर नेता वीरजङ्गको सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ, वीरजङ्ग पार्टीको खम्बा हुनुहुन्थ्यो, क्रान्तिकारी विचारको रक्षा र विकास गर्नेमा श्रेष्ठ भूमिका छ, विचार र राजनैतिमा कुशल हो, सक्षम संगठक हो, जनसम्वन्ध राम्रो भएको नेता हो, उहाँको पार्टीमा सधैँ अभाव खट्किने छ ।”
उनले नेता वीरजङ्गले क्रान्तिकारी आन्दोलनमा गरेको योगदानबारे थप चर्चा गदै नेकपा माओवादीको मूल नेतृत्वमा आएको विचलनदेखि पार्टीभित्रको खराब विचारका विरुद्ध निरन्तर संघर्ष गर्दै नेकपाको क्रान्तिकारी विचार र नेतृत्वको रक्षा र विकास गर्ने सम्म महत्वपूर्ण काम गरेको योद्धा भएको प्रष्ट्याए ।
प्रवक्ता प्रकाण्डले दलालपूँजीपति वर्गसंगको लडाई बाहिर देखिएपनि यो साम्राज्यवादीहरुसँगको लडाई भएको भन्दै यी दुवै प्रवृति पछिल्लो समय तीन बुँदे उल्लंघन गर्दै नेपाली जनताको मुक्तिको क्रान्ति विरुद्ध आएको र संघर्ष पेचिलो परेको खुलासा गरे । उनले दलालपूजीपति वर्ग र सामाज्यवादी सबैखाले षड्यन्त्रका विरुद्ध क्रान्तिकारी शक्तिहरुले मोर्चा वनाएर संघर्ष गर्नुको विकल्प नभएको जिकिर गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कटेलले जनताको मुक्तिका लागि नेता वीरजङ्गले महत्वपूर्ण काम गरेको चर्चा गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरे । उनले श्रद्धाञ्जली अर्पण गर्ने अधिकार इमान्दार क्रान्तिकारीहरुलाई मात्र हुने भन्दै क्रान्ति छोड्नेहरुले श्रद्धाञ्जली दिएर कुनै अर्थ नहुने बताए ।
वैज्ञानिक समाजादी पार्टीका महासचिव विश्वभक्त दुलाल ९आहुति०ले मृत्यु सवै प्राकृतिक विज्ञान भएपनि ढिलो चाडो संयोगको कुरा मात्र भएको प्रष्ट्याए । उनले एउटा क्रान्तिकारी जस्तो हुनुपथ्र्यो नेता वीरजङ्ग त्यस्तै भएको टिप्पणी गर्दै दुश्मनको यातना मात्र मृत्युको कारण नभएर एलोपेथिक औषधि विधि पनि भएको बताए । उनले कम्युनिष्टहरुले एलोपेथिक र अन्य उपचार विधिहरुको संयोजन गरी वैज्ञानिक र डाक्टरहरुको सहयोग लिएर एकीकृत उपचार विधिकोबारे चिन्तन गर्नु पर्ने तर्क गरे ।
यस्तै कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पिविएम चन्द्रहरी सुवेदीले बहुआयमिक, सरल व्यक्तित्व र क्रान्तिकारी योद्धा वीरजङग भएको बताए ।
यसैगरी जनअधिकार अभियान नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वीरजङ्गलाई सहिद घोषणा गर्न मागसमेत गरे । उनले क्रान्तिमा लाग्दालाग्दै दुश्मनको यातनाका कारण उपचारका क्रममा मृत्यू भएकाले सहिद घोषणा गर्दा कुनै फरक नपर्ने तर्क गरे । नेता वीरजङ्गको सामान्य प्राकृतिक मृत्यु नभएर सरकारको यातनाका कारण मृत्यु भएको अधिवक्ता भण्डारीले दावी गरे ।
तत्कालिन नेकपाका केन्द्रीय सदस्य नेता वीरजङ्ग २०७६ असोज ३० गते दाङको सीमा क्षेत्रमा आयोजना गरिएको पार्टी कार्यक्रम स्थलबाट सुराकीका कारण प्रहरीले पक्राउ गरेको थियो । तीन बुँदे सहमतिपछि नेता वीरजङ्ग २०७८ बैशाख १९ गते रिहाई भएका थिए । उनि रिहाई हुनु अगाडि जेलमा समेत बिरामी परेका थिए । उनलाई नेपालका चर्चित अस्पतालहरुमा उपचार गराएपनि विरामी ठिक हुन सकेन । पार्टीले उनलाई थप उपचारको लागि भारत नयाँ दिल्लीको म्याक्स अस्पतालमा पुर्याएको थियो । तर उनको मुटुको दोस्रो पटक गरिएको अप्रेसनपछि उपचारका क्रममा ६१ वर्षको उमेरमा २०७८ साल असोज २८ गते राती मृत्यु भएको थियो ।
स्मृति ग्रन्थ सार्वजनिक कार्यक्रममा नेकपा माओवादी समाजवादीका सचिव अरुण घिस्रिङ लगायतका वक्ताहरुले वीरजङ्गको योगदानको चर्चा गरेका थिए ।
नेकपाका नेता अनिल शर्मा विरहीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रकाश डुम्रेले गरेका थिए ।