बुटवल

बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रका अधिकांश फुटपाथ ठेला तथा हाटबजार व्यवसायीको कब्जामा छ । पुटपाथ नै व्यापारीको कब्जामा भएपछि पैदलयात्रीले ठेलम-ठेल हिड्नु पर्यो या त मुख्य सडकबाटै जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता छ । सडक र फुटपाथमै व्यवसाय गरिँदा पैदलयात्रुलाई सडक पार गर्न र हिँड्न निकै सकस हुने गरेको छ भने लाखौं–करोडौं लगानी गरेका ठूला व्यवसायीलाई समेत टाउ दुखाईको विषय बन्ने गरेको छ ।

आफ्नो प्रशासनिक कार्यालय अगाडिको सडक कब्जा गरी व्यापार व्यवसाय गरेकाहरूलाई नहटाएको भन्दै आलोचना बढेपछि बुटवल उपमहानगपालिकाले सडक क्षेत्राधिकारभित्र गरिएका व्यापार व्यवसाय र अव्यवस्थित पार्किङ खाली गर्न ३ दिने अल्टिमेटम दिएको छ।

पछिल्लो समय काठमाडौं र पोखरा महानगरपालिकाले सार्वजनिक स्थल, सडक र फुटपाथमा गरिएको अतिक्रमण हटाएर प्रशंसा बटुलिरहँदा पनि त्यसतर्फ चासो नदिएको उपमहानगरपालिकालाई तिलोत्तमा नगरपालिकाले असोज ५ गतेभित्र सार्वजनिक स्थलको अतिक्रमण हटाउन अल्टिमेटम दिएपछि भने दबाब परेको हो।

उपमहानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै तीन दिनभित्र सडक क्षेत्राधिकारभित्र अव्यवस्थित रूपमा राखिएका निर्माण सामग्री, पसल, ठेला, सवारी पार्किङ तथा वर्कशपहरू हटाउन अल्टिमेटम दिएको छ।

उपमहानगरपालिकाका अधिकृत डोलराज पौडेलले हस्ताक्षर गरी सार्वजनिक गरिएको उक्त सूचनामा गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगर, भित्री सडकमा समेत सडक पेटी, चोक चौराहमा अव्यवस्थित रूपमा राखिएका ठेला, ट्यांकी, बजार, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसप लगायतको अवरोध हटाउन अनुरोध गरिएको छ।

‘बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर र बस्न योग्य बुटवल सहर बनाउनका लागि गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडक समेतमा सडकको क्षेत्राधिकार, सडक पेटी चोक चौराहामा अव्यवस्थित रूपमा रहेका ठेला, ट्यांकी, बजार, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसप लगायतका सामान राखी अवरोध गर्ने गरेको देखिएकोले आजका मितिले ३ दिनभित्र खाली गरिदिनुहुन अनुरोध छ,’ जारी सूचनामा उल्लेख गरिएको छ।

उपमहानगरपालिका कार्यालयको मुखैमा रहेको साप्ताहिक हाटबजार, अमरपथ, ट्राफिक चोक, तीनकुने चोक, देवीनगर, दिपनगर, अस्पताल लाइन, नयाँ बसपार्क, मिलनचोक, राजमार्ग चौराह, पुरानो बसपार्क लगायतका क्षेत्रमा फुटपाथ र सडक समेत कब्जा गरी ठेला राख्ने मात्र होइन हाटबजार समेत सञ्चालन गर्दै आएका छन्।