काठमाडौं
आइतबार सेयर बजारमा परिसूचक नेप्सेसँगै कारोबार रकम पनि लगातार घट्दै गएको छ । आज साताको पहिलो कारोबारकाे दिन बजार परिसूचक नेप्से ११.४७ अंक (०.५९ प्रतिशत) ले गिरावट भएर १९२६.२८ अंकमा बन्द भएको छ । अन्य उपसूचक ०.२९ प्रतिशतले वृद्धि हुदा बजार परिसूचक नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट आएकाे छ ।
नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागेको छ । आइतबार २५ लाख २४ हजार २२४ कित्ता सेयर किनबेच हुँदा ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको कारोबार भएको छ । गत साता बुधबार ८२ करोड र सोमबार ९० करोडमा सीमित भएको कारोबार रकम आइतबार त्यसभन्दा पनि घटेको छ ।
आइतबार ३ करोड ९५ लाख ७८ हजारको कारोबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको र ३ करोड १७ लाख ५१ हजारको नबिल बैंककाे कारोबार भएको छ । कारोबार अवधिभर कुल १८९ कम्पनीको सेयर कारोबार हुँदा १५६ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै २६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ७ कम्पनीको सेयर मूल्य स्थिर भएको छ ।
आइतबार कारोबार भएको कम्पनीमध्ये मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ४.५६ प्रतिशत, सामुदायिक लघुवित्तको सेयर मूल्य ३.८९ प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीको २.३१ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्यमा ५.३३ प्रतिशतले र सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्यमा ५.३७ प्रतिशतले गिरावट आएको छ ।