वीरगञ्ज
पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलन स्थगित गरेको छ । देशभरका डिपोबाट प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नलिएर आन्दोलनमा रहेको महासंघले नेपाल आयल निगमसँग तीन बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेको हो ।

नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र महासंघका अध्यक्ष बोहराले संयुक्त विज्ञप्ति जारी गर्दै सहमतिबारे जानकारी गराएका छन् ।बुधबार भएको सहमति र आउँदै गरेको ठूला चाडपर्वका कारण आम जनताको आवागमनलाई ध्यानमा राखेर आन्दोलन स्थगित गरिएको महासंघका अध्यक्ष खगेश्वर बोहराले जानकारी दिए ।

व्यवसायीको माग अनुरुपको भाडा वृद्धिसम्बन्धी सञ्चालक समितिमा पेश भएको प्रतिवेदन आगामी असोज ७ गतेसम्म निर्णय गरी लागु गर्ने सहमति भएको छ । त्यस्तै ढुवानी व्यवसायीको मागका सम्बन्धमा महासंघका प्रतिनिधिसहित सम्बन्धित संघ संस्था तथा संगठनका प्रतिनिधिहरुको उपस्थितिमा छलफल गरेर उचित सम्बोधन गर्ने र महासंघले ढुवानी सेवा नियमित गर्ने सहमति भएको हो ।

महासंघले लामो समयदेखि ढुवानी भाडामा समयसापेक्ष वृद्धि तथा समायोजनका लागि माग पेश गरेपनि निगमले सुनुवाइ नगरेको भन्दै पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएको थियो ।त्यसपछि बुधबारदेखि अमलेखगञ्ज डिपोबाट अन्यत्र डिपोका लागि पेट्रोलियम पदार्थ लोडिङ गर्न छोडेको थियो । असोज १ गतेबाट देशभरका सबै डिपोहरुमा लोड तथा अनलोड नगर्ने चेतावनी दिएको थियो ।

महासंघको आन्दोलनका कारण विभिन्न एयरपोर्टमा पेट्रोलको अभाव हुन थालेको भन्दै निगमले कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएका थिए ।