अनखबर
निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि देशभर १० हजार ८९१ मतदानस्थलमा २२ हजार २२६ मतदान केन्द्र तोकेको छ । आयोगले शुक्रबार जारी गरेको विवरणअनुसार गत स्थानीय निर्वाचनको तुलनामा २ लख ५४ हजार ८४७ मतदाता बढेका छन् ।
आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा झण्डै १ करोड ८० लाख मतदाताले मताधिकार पाउने भएका छन् ।
निर्वाचन आयोगले १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको अन्तिम नामावली स्वीकृत गरेको हो । जसमा ३ मंसिरसम्म १८ वर्ष उमेर पुरा हुने ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ अन्य छन् ।
आयोगका अनुसार सबभन्दा धेरै मतदाता मोरङमा छन् । त्यहाँ ७ लाख ३५ हजार ५२५ मतदाता छन् । झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ मतदाता छन् । सबभन्दा कम भने मनाङमा ६ हजार ७७९ मतदाता छन् । मुस्ताङमा १० हजार ९५७ र डोल्पामा २२ हजार ७७४ मतदाता छन् ।
प्रदेशगत रुपमा सबभन्दा धेरै मतदाता बागमतीमा छन् । यहाँ ३४ लाख ७१ हजार ४९२ मतदाता छन् भने सबभन्दा कम कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ छन् ।