वीरगञ्ज
नागरिकता विधेयक प्रमाणीकरण नगरेको निर्णयमा राष्ट्रपति विद्यादेवी भण्डारीकाे विरोधमा वीरगञ्जमा प्रदर्शन  भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ पर्साले संयुक्त रुपमा वीरगञ्जमा विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामासमेत माग गरेका छन् । उनीहरुले राष्ट्रपतिको राजीनामा माग्दै ७ लाख नागरिकलाई नागरिकताविहीन बनाउन पाइँदैन भन्दै नाराबाजी गरका छन् ।

उनीहरुले वीरगञ्जको आदर्शनगर र मुर्ली चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । जसपाका विद्यार्थी, युवा देखि जिल्ला, प्रदेश र केन्द्रस्तरका नेताहरु समेत प्रदर्शनमा सहभगी भएका छन् ।

जसपा नेपालका पर्सा सचिव तवरेज अहमदले संविधानको संरक्षकले नै संविधान विरोधी कदम चालेकोले विरोध गर्नुपरेको बताए ।”७ लाख युवा विद्यार्थी नागरिकताविहीन छन्, उहाँले नागरिकता विधेयक प्रमाणीकरण गरिदिनुभएन, राष्ट्रपति संविधानको संरक्षक हुँदा हुँदैपनि संविधानको पालना गर्नुभएन । त्यसैले राष्ट्रपतिको कदमको विरोधमा आज प्रदर्शन गरेका छौं, पार्टीको निर्देशन आएपछि त्यसैअनुसार अघि बढ्छौं ।” भन्ने उनको भनाई छ ।