सुर्खेत
समाजिक सुरक्षा तीन महिनादेखि भत्ता नपाउँदा राउटे समुदाय दशै कसरी मनाउने चिन्तन छन् । साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । दशैको मुखमा भत्ता नपाउदा कसरी चाडपर्व मनाउने भन्नेमा चिन्तित छन् ।
दैलेखको भगवतीमाई गाउँपालिका –१ बेस्तडा बाबियातडामा रहेका राउटे समुदायले दशैका लागि बस्ती राम्रो बनाए पनि यो वर्ष आफूहरुको भत्ता नआउदा सोचेजस्तो दशै नहुने राउटे मुखिया सूर्यनारायण शाही बताउँछन् । पहिले समयमै भत्ता आउथ्यो तर अहिले भत्ता नआएपछि आफुहरु दुःखी भएको राउटे मुखिया सूर्य नारायण शाही बताउँछन् । मुखिया नारायण भन्छन्, “पहिले समयमै भत्ता पाउँथ्यौँ, दशै पनि रमाइलो हुन्थ्यो तर अहिले दशैमा भत्ता नपाएपछि अहिलेको दशैमा खुशि नभएर दुःखी छौँ हामी ।”
राउटे मुखिया शाहीले दु:ख व्यक्त गर्दै भने ‘‘पछिल्लो सरकार आएदेखि आफुहरुले समयमै भत्ता पाएका छैनौँ । साउने संक्रातिमा पनि ढिलो गरि पायौँ अहिले दशैमा पनि पाएनौँ अब कसरी दशै मनाउने ?”
दशैँको मुखमा राउटेका ४० परिवारका १ सय ४४ जनाको भत्ता रोकिएको हो । समयमै भत्ता नपाएपछि राउटे बस्तीमा खाद्यान्न, नुन, तेललगायत दशैका लागि आवश्यक पर्ने सामग्रीको अभाव बताए । पाँच बर्षदेखि राउटेका लागि दैलेखको गुराँस गाउँपालिकाले भत्ता वितरण गर्दै आएको थियो । तर, असोजमा पाउनुपर्ने भत्ता नपाएका र शुक्रवार साँझ मात्र वडा कार्यालयको खातामा पैसा आएपनि आइतबार बैंक बन्द भएका कारण राउटेलाई भत्ता वितरण गर्न नसकिएको गुराँस गाउँपालिका ८ का वडा अध्यक्ष दिपेन्द्र वलीले बताए ।
जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल दशैको मुखमा राउटे समुदायले सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने बताउँछन् । “राउटे समुदायले हर्षोल्लासका साथ दशै मनाउन पाउनुपर्छ” उनले थप्दै भने, “उनीहरुलाई भत्ता उपलब्ध गराउने पालिका र वडाले जताबाट भएपनि दशैमा भत्ता उपलब्ध गराउनुपर्छ ।”
कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा बसाईसराई गर्दै आएका राउटेलाई २०७४ असारदेखि गुराँस गाउँपालिका ८ कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिको हो । वडा कार्यालयले फिरन्ते राउटेको बस्ती जहाँ पुग्छ, त्यही पुगेर भत्ता वितरण गर्दै आएको छ ।
पछिल्लो समय राउटे समुदायको बसाईसराई छिटोछिटो भइरहेको छ । समुदायमा कसैको मृत्यु भए बस्ती सार्ने परम्परा छ । जनगणनाको तथ्यांकले राउटको जनसंख्या घट्दै गइरहेको देखाउँछ । २०५८ सालमा १ सय ८० जनसंख्या रहेकोमा २०६८ को जनगणना घटेर १ सय ६६ रहेको थियो । गुराँस गाउँपालिकाले २०७४ सालमा लिएको तथ्यांक अनुसार १ सय ४९ रहेकोमा घटेर अहिले १ सय ४४ छ ।