काठमाडौं । संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको किस्ट मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको हो ।
अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले जोशीको निधन भएको पुष्टि गरे । १०३ वर्षका जोशीको स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले आइसियुमा सारेर उपचार गर्दै आएको थियो ।
डेंगु भएपछि अस्पताल भर्ना भएका जोशीको मुटुमा पनि समस्या देखिएको छ । उनी ७ असोजमा अस्पतालमा भर्ना भएका थिए । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको दाहसंस्कार नगरिने भएको छ । जोशीको शव नजलाई अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने तयारी भइरहेको छ ।
शवलाई अस्पतालको प्रांगणमा श्रद्धाञ्लीका लागि राखिने पारिवारिक स्रोतले जानकारी दिएको छ । जोशीले मृत्यु अघि नै शरीर दान गरेका थिए ।
उनको दाहसंस्कार कसरी कसरी गर्ने भन्ने बारेमा परिवार र अस्पतालबीच छलफल भएको थियो। छलफलको क्रममा जोशीको शवलाई नजलाई अध्ययनको लागि अस्पतालमा राख्ने सहमति भएको हो ।