काठमाडौँ

आगामी तिहारका लागि तीन लाख सङ्ख्यामा माला आयात गरिने भएको छ । तिहारमा खपत धेरै हुने हुँदा स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा तीन लाख सङ्ख्यामा सयपत्री माला आयात गर्न लागिएको हो । तिहार आउन दुई साता बाँकी रहँदा व्यवसायीले तिहारलाई लक्षित गरेर माला आयात गर्ने तयारी गरेका छन् ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष मीनबहादुर तामाङले यसपालि तिहारमा १३ करोड ५० लाख रुपियाँ बराबरको २४ लाख ४५ हजार सङ्ख्यामा माला खपत हुने अनुुमान गरिएको बताए । फूलमा मुलुक आत्मनिर्भर भए पनि तिहारमा सयपत्री मालाको खपत धेरै हुने हुँदा माला आयात गर्नु परेको उनले बताए ।

तिहारमा सयपत्री फूलको मालाबाट ११ करोड  रुपियाँ, मखमली फूलको मालाबाट एक करोड ७० लाख रुपियाँ र गोदावरी फूलको मालाबाट ८० लाखको कारोबार हुने फ्यानले जनाएको छ । गत वर्ष सयपत्री फूलको मालाबाट नौ करोड ९८ लाख रुपियाँ, मखमली फूलको मालाबाट एक करोड ४२ लाख रुपियाँ र गोदावरी फूलको मालाबाट ५२ लाख गरी ११ करोड ९२ लाख रुपियाँको कारोबार गरेको थियो ।

गत वर्ष ११ करोड ९२ लाख रुपियाँ बराबरको २२ लाख ३५ हजार सङ्ख्यामा मालाको खपत भएको थियो । यो वर्ष माग १० प्रतिशतले बढ्ने अनुमान गरिएको उनले बताए । एसोसिएसनका अनुसार सयपत्री फूलको प्रतिमाला ५५ रुपियाँ बिक्री हुने अनुमान गरिएको छ । गत वर्ष पनि सोही मूल्य कायम भएको थियो । त्यस्तै मखमली फूलको मूल्य भने गत वर्षको तुलनामा पाँच रुपियाँले वृद्धि भएको छ । गत वर्ष प्रतिमाला ३५ रुपियाँ कायम भएकामा यो वर्ष ४० रुपियाँ तोकिएको एसोसिएसनको भनाइ छ । यस्तै गोदावरी फूलको माला ५० रुपियाँले बढेको छ । गत वर्ष प्रतिमाला ३५० रुपियाँ कायम भएको गोदावरी फूलको मूल्य यो वर्ष चार सय रुपियाँ तोकेको छ ।

एसोसिएसनका अनुसार गत वर्षको तिहारमा १८ लाख १५ हजार सयपत्री फूूलको माला खपत भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सयपत्री फूलको मागमा वृद्धि हुने अनुुमान गरिएको तामाङले जानकारी दिए । यस वर्षको तिहारमा पाँच दिन करिब २० लाख सयपत्री, चार लाख २५ हजार मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने अनुमान गरिएको उहाँले जानकारी दिए ।