शिव डुम्रे/बुटवल,
बर्षेनी अत्याधिक पहिरोको कारण ठूलो धनजनको क्षती गराउँदै आएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्र हरेक बर्षायाममा चर्चामा आउने क्षेत्र हो । तर यसपाली भने चुनावको बेलामा सिद्धबाबा क्षेत्र थप तरङ्ति भएको छ । कारण चुनावलाई लक्षित गर्दै सबै पार्टीहरुले घोषणापत्रमा सिद्धबाबा सुरुङ्मार्गलाई प्राथमिकताका साथ राखेका छन् । घोषणापत्रमा मात्रै होईन सिद्धबाबा क्षेत्रमा पनि योजनाका ठूला ठूला साईनबोर्ड टास्न थालिएको छ । तर काम गर्ने कम्पनी र परियोजना भने अहिलेसम्म सिद्धबाबा आएको छैन । सधै चुनावको बेलामा चर्चा हुने सिद्धबाबा सुरुङमार्ग यसपाली पनि चुनावी मुद्धामा मात्रै सिमित हुने चिन्ता स्थानीयले गर्न थालेका छन् ।
असम्भव कामहरु पनि चुनावको घोषणापत्रमा सम्भव मात्रै होईन सहजनै बन्छन् । चुनावको समयमा हुने नहुने सबै आशा देखाएर मतदातासँग मत लिनु नेपालको चुनावी समयको एउटा तितो सत्य जस्तै भएको छ । बर्षेनी सयौं सवारी दुर्घटना हुने र कयौंको जीवन जाने सिद्धबाबा क्षेत्रमा बन्ने सुरुङमार्ग पनि चुनावको समयमा मात्रै चर्चामा आउन थालेको दशकौं भैसक्यो ।
तर अहिले भने सुरुङ्गमार्गको लागी सरकारबाट बजेट समेत सुनिश्चित भैसकेको अवस्थामा समेत सुरुङमार्गको काम अगाडी नबढ्दा स्थानीयहरु भने फेरी विगतमा जस्तै हुने हो कि भन्ने चिन्तामा छन् । चुनावमा आफ्नो पक्षमा मतदातालाई रिझाउनको लागी सुरुङ्मार्गको योजना आफूले ल्याएको र पूरा गर्ने भन्दै एमालेका विष्णु पौडेल देखी गठबन्धनका विभिन्न नेता र पाल्पाका नेताहरुले समेत आफ्नो घोषणापत्रमा समेटेको देखिन्छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको घोषणापत्रमा समेत उक्त सुरुङमार्ग निर्माणमा पहल गर्ने समेटिएको छ । जनतासँग प्रत्यक्ष जोडिएका महत्वपूर्ण आयोजनामा समेत राजनीतिक लाभ लिनेगरी प्रचारप्रसार गर्न थालिएका छन् । बुटवलका स्थानीय एवं ईन्जिनियर समेत रहेका कुसुम ज्ञवालीको आखाँमा निर्वाचनको मुखमा भित्तामा पोष्टरमात्रै टासिने हो कि भन्ने चिन्ता व्यक्त गरे, हामीसँगको कुराकानीमा ज्ञवालीले भने, ‘बुटवलबासीले बर्षाैदेखी सुरुङ्मार्गको सपना देखिरहेका छन्, सिद्धबाबाले बर्षेनी सयौं दुर्घटना निम्त्याईरहेको छ, सिद्धबाबा सुरुङ्मार्ग सधैं चुनावी नारा नबनोस्, राज्यको आँखा पुगोस् ।’
वर्षेनि पहिरोका कारण सडक अवरुद्ध हुँदा नागरिकले सास्ती भोगरहेका छन् । बुटवल – पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रको ८ किलोमिटर बाटोलाई मृत्युमार्गकै रुपमा लिईन्छ । हरेक बर्षायाममा बर्षेनी सरदर २० बटा सानाठूला दुर्घटना हुने तथ्याङ्क छ । बर्षेनी दजर्नाै नागरिक यो बाटोको कारण प्रत्यक्ष मारमा पर्दछन् । पछिल्लो आर्थीक बर्षमा मात्रै सिद्धबाबा क्षेत्रमा ९ जनाको ज्यान गएको थियो । हिउँदमा समेत माथीबाट खस्ने ढुंगासहितको सुख्खा पहिरोको कारण कयौं धनजनको क्षती सिद्धबाबा सडकले निम्त्याउने गरेको छ । जनजीवनमाथी प्रत्यक्ष प्रभाव पारेको सिद्धबाबा सुरुङमार्ग बनाउने भन्दापनि कस्ले बनाएको भनी लाभ लिने भन्नेतर्फ नेताहरु केन्द्रित हुन थालेका छन् । बुटवलका युवा बालकृष्ण भण्डारीपनि सिद्धबाबा चुनावी नारामामात्रै सिमित भएकोप्रती चिन्तीत छन्, ‘सधै चुनावको बेलामात्रै तात्तिने यस्ता मुद्दा चुनावी फण्डामात्रै हुन्’ उनले भने ।
बुटवल–नारायणगढ सडकको जिम्मा पाएको चाईनिज स्टेट कम्पनीले पाएको टेण्डर बमोजिम असोजदेखी काम अगाडी बढाउने भनिएपनि हालसम्म न कार्यालय खोलिएको छ न काम अगाडी बढेको छ । सिद्धबाबा क्षेत्रका केही ठाउँमा ठूला बोर्डहरु राखिएको छ, जहाँ बोर्डहरुलाई देखाएर भोट नेताहरुले आफ्नो पक्षमा पार्ने गरी हतारहतार बोर्ड टासेको प्रष्ट हुन्छ । बुटवल–नारायणगढ सडकको काम समयमा नगरेर आलोचित भएको ठेकेदार कम्पनीलाई नै सुरुङ बनाउने जिम्मा दिनुले पनि यो काम कति समय लाग्ला भन्ने अनुमान गर्न सकिन्छ । रुपन्देहीका विष्णु पौडेल, बालकृष्ण खाण्ाँ, दीपक बोहोरा, पाल्पाका सोमनाथ पाण्डे लगायतका नेताहरुले हरेक भाषणमा सिद्धबाबाको सुरुङमार्ग भने भन्न छोड्दैनन् ।
निर्माण हुन लागेका संरचनामध्ये सुरुङको लम्बाइ एक हजार १२६ मिटर र बाटोको लम्बाइ जम्मा दुई दशमलव पाँच किमी हुन्छ । सरकारले यसका लागि १० अर्ब बजेट सुनिश्चित गरिसकेको छ । सो सुरुङले खासगरी सिद्धार्थ राजमार्गले समेट्ने गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङलगायत दर्जन बढी जिल्लावासीलाई सुविधा पुग्नेछ । अत्याधिक पहिरोको जोखिम क्षेत्रमा सुरुङ्ग र ढुंगा खस्ने क्षेत्रमा ‘रकसेड’ प्रविधीयुक्त गरी ६ बर्षमा निर्माण सक्ने सरकारको लक्ष्य छ । तर चुनावी समयमा मात्रै तात्ने यस्तो परियोजना काम कम राजनीतिक लाभ बढी लिने प्रवृत्तिले जनजीवनमा अतिआवश्यक काम पनि राजनीतिक मुद्दा बन्न थालेका छन् । जनतालाई प्रभावित पार्न वा भ्रम छर्न विकासको सुरुवात भएजस्तो देखाईदिने तर त्यसको प्रतिफल लिन बर्षाै कुनुपर्ने नियती सिद्धबाबा सुरुङमार्गले नभोगोस् ।