अनखबर
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा भइरहेको अन्तिम सुनुवाइमा रिट निवेदकतर्फका वकिलको बहस सकिएको छ।
रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा आज पाँच जना वकिलहरूले बहस गरेका छन्। रिट निवेदकका तर्फबाट रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतले बहस गरेका हुन्। अहिले खाजा समयका लागि सुनुवाइ रोकिएको छ।
खाजा समयपछि लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूले बहस गर्नेछन्।
संवैधानिक इजलासमा कायममुकायम मुख्यन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन्। लामिछानेविरुद्धको मुद्दामाथिको सुनुवाइका लागि गठित इजलासमा बुधबार विश्वम्भरप्रसाद श्रेष्ठ थपिएका छन् भने प्रकाशमानसिंह राउतलाई हटाइएको छ । गत २२ पुसको सुनुवाइमा श्रेष्ठ बिदामा थिए ।
अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिई खारेज भएकै नागरिकताबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीसहितको माग गर्दै गत २८ मंसिरमा लामिछानेविरुद्ध रिट दर्ता गरिएको थियो ।