अनखबर
सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा जारी बैठकमा भावी राष्ट्रपति, गठबन्धनभित्र देखिएको अविश्वाससहितका विषयमा छलफल भइरहेको छ ।
आगामी २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा उठाउने उम्मेदवारका विषयमा विशेष रुपमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
बिहीबार नै संयन्त्रको बैठक बस्ने भनिएको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । जसकारण शुक्रबार बिहानका लागि संयन्त्रको बैठक सारिएको हो ।
जारी बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयदेखि प्रादेशिक राजनीतिक समीकरणका विषयमा पनि छलफल हुनेछ । केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले बालुवाटारमा जारी छ । राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न बोलाइएको बैठकमा सत्तारुढ गठबन्धनका तीन सहयात्री दल भने उपस्थित छैनन् ।


एमाले अध्यक्ष ओलीसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन बैठकमा सहभागी छन् । तर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ बैठकमा नगएका हुन् ।
जसपा प्रवक्ता मनिष सुमनका अनुसार यादव अहिले जनकपुरबाट काठमाडौं फर्किँदै छन् । उनी आइपुग्दासम्म बैठक सकिएन भने सहभागी हुने सुमनले जानकारी दिए । यस्तै, जनमत पार्टी सचिवालयका अनुसार सीके राउत उपत्यका बाहिर छन् । नागरिक उन्मुक्तिकी श्रेष्ठले आफू डिल्लीबजार कारागारमा रहेको बताइन् ।

नागरिक उन्मुक्ति यसअघि पनि संयन्त्रको बैठकमा गएको थिएन । सो पार्टीले हिजो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिएपछि सरकार ढलेको छ ।