९ फागुन, काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डलाई २१२ रनमा अलआउट गरेको छ ।
नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६।१ ओभरमा सबै १० विकेट गुमाएर २१२ रन बनाएको हो ।
स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए । म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकुलेनले ३१ रन जोडे । काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए ।
पहिले ब्याटिङमा आएको स्कटल्याण्डले राम्रो सुरुवात गरेको थियो । काएल कोएत्ज र जर्ज मुन्सीले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे ।
पहिलो खेलमा नामिबिया विरुद्ध शतक बनाएपछि दुई खेलमा बेन्चमा बसेका बर्थडे ब्वाए मुन्सीले नेपाल विरुद्ध आक्रमक ब्याटिङ गर्दे ६० रन बनाए । त्यसका लागि उनले ५० बल खेल्दे ९ चौका र २ छक्का प्रहार गरे ।
करण केसीले ८।१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए । राजवंशीले १० ओभरमा १ मेडन राख्दै ३३ रन मात्र खर्चिए ।