अनखबर /भैरहवा
रुपन्देहीमा संचालित देशकै प्रतिष्ठित भनिएको अर्घाखाँची सिमेन्टमा १ महिनाअघि माघ १६ गते दुर्घटना भयो । दुर्घटना भएको लामो समय हुँदासम्म उक्त घटनालाई बाहिर ल्याईएन । रुपन्देहीको सियारी गाउपालिका वडा नं. २ स्थित रहेको अर्घाखाँची सिमेन्ट उद्योगको कोल मिलमा अचानक आगलागी हुँदा उक्त सिमेन्टमा काम गर्ने ४ जना कामदारको मृत्यु भएको हो । मृत्यु भएको उक्त घटना कुनैपनि मिडिया वा अन्य माध्यममार्फत बाहिरिएन । प्रहरीको रिपोर्ट पुगेपनि प्रहरीले मुचुल्का तयार पा¥र्याे तर घटना बाहिर आएन । १ नेपाली र ३ भारतीय नागरिकको मृत्यु प्रकरण हुदाँसमेत बाहिर नआउनु शंकास्पद देखिन्छ ।
रुपन्देही कोटहीमाई ४ बस्ने ३८ बर्षिय अंगद हरिजन, भारत उत्तर प्रदेश जिल्ला फनेहपुर ग्राम सेलवन घर भएका ५० बर्षिय जितेन्द्र कुमार, विहार गोपालगञ्ज ग्रामका २७ बर्षिय शसिकान्त कुमार कुसवाह, विहारकै समस्तपुर ग्रामका ४८ बर्षिय श्रीराम सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुष्टि गरेको छ ।
सधैजसो चर्काे लाईट बोल्ने कोँल मिलमा कोईलामा ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको थियो । तर के कारणले आगोलागी भएको हो भन्नेबारे पुष्टि भैसकेको छैन । माघ १६ गते दिउँसो नजिकै होटल गर्नेहरुले सम्पुर्ण घटना देखेका थिए, घटना भैरहँदा पनि सामान्यत उद्योगभने सञ्चालनमै थियो । एकजना सुरक्षागार्डले नाम नखोल्न सर्तमा भने,‘मान्छे निकाल्दा पुरै डढेर मुसोजस्तो भैसकेका थिए, तर उनीहरुलाई हस्पिटल लगियो ।’ उनका आफन्तहरुलाई पनि खबर गर्दा घाईते भएको भनेर बोलाईयो र एकैपटक लास बुझाईयो । उनीहरुको प्राण गैसकेपनि उपाचार गरिएको नाटक गरिएको स्थानीयहरु बताउँछन् । घटना भएको स्वीकार गर्दै अर्घाखाँची सिमेन्ट प्रा.ली.ले विमामार्फत क्षतीपूर्ती दिएको बताएको छ । स्रोतले भन्यो दुर्घटना दुखद भयो, तर विमा भएको कारण अलिक सहज भएको हो । तर नाम नखोल्ने सर्तमा एक स्थानीयले भने,‘उनीहरुलाई क्रियाखर्चमाचै दिइएको र क्रिया सकेपछि अन्य छलफल गरिने गरी लास बुझाईएको हो ।’ यसबारे अन्य तथ्य अनखबरले खोजी गरिरहेको छ ।