बुटवल, ३ बैसाख ।
यातायात मजदुर तथा व्यवसायी भलाई कोष बुटवलले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाको ४९ औं स्थापना दिवसको अवसरमा तिलोत्तमा ६ मोक्षधाममा अवस्थित मानव सेवा आश्रमलाई एक क्वीन्टल चामल सहित दाल, तेल, आलु प्याज लगायत खाद्यान्न र साबुन प्रदान गरिएको हो ।

सो अवसरमा कोषका अध्यक्ष दिनेश फुल्लेलले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको स्थापना दिवसमा मानवीय सेवाका लागि खाद्यान्न प्रदान गरिएको बताए । आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने अध्यक्ष फुल्लेलले बताए ।

आश्रमकी मानवता प्रवद्र्धन अभियान्ता रिया थापाले संघसंस्था र व्यक्तिको सहयोगबाट आश्रममा रहेका करिब २ सय जना महिला, पुरुष र बालबालिकाको पालनपोषण गरिएको बताइन् ।

सो अवसरमा कोषका उपाध्यक्ष छविलाल थापाले आश्रममा रहेका महिला र बालिकालाई मिठाई वितरण गरेर आफ्नो जन्म दिन मनाए ।

कोषका निवर्तमान अध्यक्ष नारायण भट्टराई, महासचिव योगबहादुर गुरुङ, कार्यालय प्रमुख ठानेश्वर बस्याल लगायतले आश्रमलाई दीगोरुपमा सञ्चालन गर्न स्थानीय, प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने धारणा राखे । खाद्यान्न वितरणका लागि कोषका पदाधिकारी तथा कार्यसमिति सदस्यलगायत कर्मचारीसमेत मानव सेवा आश्रममा पुगेका थिए ।