अनखबर
लुम्बिनी प्रदेश सरकारको गठनको लागी सत्ता गठबन्धनको तर्फबाट आज दाबी पेश भएको छ । नेपाली कांगे्रेससहितका ८ दलले संयुक्त हस्ताक्षर गर्दै मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न मागदाबी गर्दै आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा दाबी पेश गरेको छ ।
नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ जना र स्वतन्त्र १ सांसद गरि ५३ जना साँसदको हस्ताक्षर सहित चौधरीले प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरेका हुन ।
लुम्बिनीमा मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वमा माओवादी सहितको गठबन्धनको सरकार बनेको थियो । संविधानको धारा १६८ को उपधारा २ अनुसार एमालेका लिला गिरीले मुख्यमन्त्रीको रुपमा पुस २७ गते शपथ लिएका थिए । तर केन्द्रमा सत्ता गठबन्धन परिर्वतन भएसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो । सरकारमा रहेको दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले वैशाख ११ गते विश्वासको मत लिएका थिए । तर उनले विश्वासको मत नपाएपछि सरकार गुमेको थियो ।
त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि बिहीबार ४ बजेभित्र दाबी पेस गर्न समयसीमा दिएका थिए । संविधानको धारा १६८ को २ पछि उपधारा ३ को प्रक्रियामा जानुपर्नेमा २ मै सरकार गठन गरेको भन्दै एमालेले विरोध गरेको हो । प्रदेश प्रमुख शेरचनले सरकार गठनका लागि महान्यायाधिवक्तासँग राय लिएर सरकार गठन दाबीको आह्वान गरेका थिए ।


त्यस्तै मुख्यमन्त्रीलाई आलोपालो गर्ने विषयमा समेत सहमति भएको नेकपा माओवादी केन्द्रले जनाएको छ । पहिलो कार्यकाल नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ भने अर्काे कार्यकालमा नेकपा माओवादी केन्द्रले सरकार बनाउने छ, तर उक्त सहमति कुनै लिखित भने छैन, पार्टीहरुले यसलाई राजनीतिक सहमति भनेका छन् ।
नेकपा एमालेले भने प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गरेको आह्वान नै गैरकानुनी भएको दाबी गर्दै आएको छ । एमालेले यसको विरोधमा अदालत जाने चेतावनी दिएको छ। उपदफा ३ अनुसार दाबी गर्दा एमालेले सरकार बनाउन पाउने थियो ।
सत्ता गठबन्धनले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा सरकारको दाबी गर्न लागेको हो । चौधरीलाई एमाले र राप्रपा बाहेक सबै दलका सासंदको समर्थन रहेको छ ।
दाबीबमोजिम सरकार गठनको लागी प्रदेश प्रमुखले नियुक्त दिने र भोली नै सपथ ग्रहणको तयारी रहेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।