अनखबर
बैशाख शुक्ल पूर्णीमा अर्थात बुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाण प्राप्त गरेको दिन । यसै दिनलाई लिएर लुम्बिनीमा बुद्धयन्ती एवं लुम्बिनी दिवसको रुपमा मनाउँदै आईरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० ले गौतम बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहेको बताएका छन् । २५६७ औं बुद्धजयन्तीको अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले २५६७ वर्षअघि नेपालको लुम्बिनीमा जन्मिएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरी नै अद्वितीय रहेको बताएका हुन् ।
बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुवै रहेका बताएका प्रधानमन्त्री प्रचण्डले वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास दुवै गरेका बताए ।
दर्शनको क्षेत्रमा मात्र नभएर चिन्तन र समाज विज्ञानको क्षेत्रमा बुद्धको योगदान विश्वव्यापी रूपमा सर्वमान्य रहेको बताउँदै उनले पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व भएका धारणा राखे ।