अनखबर
विगतमा विभिन्न विवादले बदनामी कमाएको बुटवलस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र (लाईसेन्स) कार्यालय बुटवलको मुहार अहिले भने निकै फेरिएको छ ।
लाईसेन्स नविकरण गर्न गुल्मीदेखि आएका दिनेश पन्त आफ्नो काम गर्दै गरेका भेटिए । अनखबरले उनीसँग जिज्ञासा राख्यो, ‘पहिलेको र अहिलेको लाईसेन्स कार्यालयमा कत्तिको फरक पाउनुभयो ?’ उनी निकै खुसी देखिदै निकै परिवर्तन पाएको बताए । उनले मेडिकलको शुल्क रु १५० बाट १०० रुपैँया घट्नुले निकै सहुलियत महसुस गरेको बताए । उनले विगतमा भन्दा निकै छिटो र आफैँ कोठाकोठामा पुगेर काम गरेको अनुभव पनि बताए ।
यस्तै सालझण्डीबाट आएकी रेनुका विश्वकर्माले पनि धेरै बेर लाईनमा बस्नु नपरेको भन्दै खुसी व्यक्त गरिन् । उनले फोटो खिच्न र मेडिकल गर्न जम्मा २ घण्टाभित्रैमा काम सकेको भन्दै कोही विचौलियाले हामीले गर्दिन्छौं भन्दै कोही नआएको उनले बताईन् ।
यि प्रतिनिधी पात्र मात्रै हुन्, विगतमा पटकपटक चर्चा र विवादमा आईरहने यातायात व्यवस्था कार्यालय अहिले भने निकै फरक देखिन्छ । कार्यालयमा छिर्नासाथ लाउडस्पीकरमा विचौलियादेखी सावधान भन्ने सन्देशमुलक आवाज बजिरहन्छ । कोही कसैको प्रलोभनमा नपरी आफ्नो काम आफैं गर्नुहोस भन्ने सन्देश सेवाग्राहीले बुझ्ने गरी घकिन्छ । छेउतिर रहेको मेडिकल गर्ने ठाउँमा विगतमा रु १५० लिने शुल्कलाई घटाएर रु १०० लिने निर्णय गरेर भित्तामा रु १०० मात्र टासिएको छ । दैनिक हजारौं सेवाग्राहीले रु ५० बचत गर्न पाएका छन् । गेटबाट भित्र छिर्नेवित्तिकै नागरिक वडापत्र टासिएको छ, जस्ले कुन काम कहाँ र कतिबेला गर्न भन्नेबारे स्पष्ट लेखिएको हुन्छ । अर्काेतर्फ खुला रहेको ट्रायल सेन्टरमा अहिले ट्रायल दिने परीक्षार्थी र लिने कर्मचारीबाहेक कोही जान नमिल्ने गरी ट्रस्टको बार लगाईएको छ । अनेक बाहानामा भित्र छिर्ने विचौलियाहरु अचेल लाईसेन्स कार्यालयमा भिडभाडँ देखिदैन । केही समय अगाडी लाईसेन्स कार्यालयमा आएका कार्यालय प्रमुख महेश पाण्डेले कार्यालय भित्र अझ केही भौतिक र प्रशासनिक परिवर्तनको खाँचो देखेको बताए ।
सेवाग्राहीलाई सहज बनाउने र लाईन बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने निती नेपाल सरकारले लिएको छ, त्यसो गर्नको लागी भौतिक अवस्थादेखी धेरै प्रशासनिक कामहरुलाई डिजिटलाईज्ट गर्ने र एकै ठाउँमा सेवा सञ्चालन गर्नेजस्ता नितीहरु अख्तियार गरेको देखिन्छ । साना साना कुरा परिवर्तन गर्नेहो भने मात्रै पनि आम सेवाग्राहीले सहज महसुस गर्नसक्छन् भन्ने उदाहरण अहिलेको यातायात कार्यालय बुटवल हो । सरकारलाई कर तिर्न जाने धेरैजसो कार्यालयहरुमा सेवाग्राहीले शास्ती पाईरहेका हुन्छन्, सामान्यतय खानेपानी नहुने, शौचालयको राम्रो व्यवस्था नहुने, घाम वा पानीमा उभिएर लाईन बसेर कर तिर्नुपर्ने जस्ता समस्याहरु छन्, यस्ता सामान्य कुरालाई मात्रै नियमन गर्ने हो भने जनताले ठूलो राहात महसुस गर्ने थिए ।