काठमाडौं ।
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान सुरु गरेको ५८ औं दिनमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको छ । सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए। परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले पनि प्रतिवेदन बुझाउन पठाएको बताए।
प्रहरीले यस प्रकरणमा झन्डै २७ करोडको बिगो रकम माग गर्नुपर्ने उल्लेख गरेको छ। यसअघि २६ करोडको बिगो देखिएपनि आइतबार मात्रै आङटावा शेर्पाविरूद्ध थप पीडितले जाहेरी दिएका थिए। त्यससँगै बिगो रकम बढेको हो। प्रहरीले चैत १२ गतेदेखि सुरू गरेको अनुसन्धान ६० दिन पुग्नै लाग्दा सरकारी वकिल कार्यालयमा प्रतिवेदन दिएको हो। सरकारी वकिलले पनि यस प्रतिवेदनलाई मंगलबार अदालतमा पेश गर्नुपर्ने बताएको छ।
यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। यस्तै १२ जना भन्दा बढी फरार छन्। प्रहरीले यस घटनामा मुख्य योजनाकार केशव दुलाल र सानु भण्डारीलाई बनाएको छ। दुलाल मोरङ पथरीका हुन्। भण्डारी सुनसरी इटहरी घर भएर पछिल्लो समय ललितपुरको इमाडोलमा बस्थे। उनीहरूबीच पुरानो चिनजान थियो।
दुलाल २०६६ सालमा उपप्रधान एवं परराष्ट्रमन्त्री बनेकी सुजाता कोइरालाका पिएसमेत नियुक्त भएका थिए। उनीहरू दुई जनाले मिलेर यसैगरी पुनर्वासमा पठाउने बेलामा कम्तीमा पनि १३ हजार नेपालीलाई विदेश पठाएको हुनसक्ने प्रहरीको अनुमान छ। त्यसबेला पनि उनीहरूले यसैगरी थुप्रै मानिससँग पैसा उठाएको स्रोतले बतायो।