अनखबर
रुपन्देहीको देवदह नगरपालिकामा पर्ने खयरडाँडा उत्खनन् सुरु भएको छ । बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको देवदह नगरपालिकाको खयरडाँडामा लुम्बिनी विकास कोषले उत्खनन् सुरु गरेको हो । बुधबार कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगरप्रमुख धुब्र खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङले संयुक्त रुपमा उत्खनन् को शुभारम्भ गरेका हुन् ।
लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा ७ जनाको टोली उत्खनन् मा खटिएको छ । लामो समयदेखि स्थानीय बासिन्दाको माग रहेपनि विविध कारण हुन नसकेको उत्खनन् यो पटक सुरु गरिएको महाशाखा प्रमुख उप्रेतीले बताए ।
देवदह नगरपालिका–९ स्थित घोडाहा खयरडाँडामा लामो समयदेखि दरबार क्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खनन् का लागि स्थानीयले माग गर्दै आएका थिए । उनीहरुले खयरडाँडामा बुद्धको मावली कोलिय गणराज्यको राजधानी देवदहको दरवार भएको दाबी गरेका छन् ।