सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि १ बजेसम्म केन्द्रीय कार्यालय पेरिसडाडामा राखिने वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटाले बताए । उनको आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा राजनीतिक दलका शीर्ष नेता तथा सुरक्षा निकायका प्रमुखहरू पुग्ने क्रम बढेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती नर्भिक पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल परिवारलाई समवेदना व्यक्त गर्न नेताहरू अस्पताल पुगेका हुन् ।
यसैबीच आज निर्धारित कांग्रेस केन्द्रीय कार्य समिति बैठक पनि अन्योलमा परेको छ । बैठक स्थगित गर्नेबारे आफूहरू छलफलमा रहेको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले सल्लाहकार सीता दाहालको निधनबाट पार्टीमा अपुरणीय क्षति पुगेको जनाएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको आज बिहान ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो । माओवादी केन्द्रका महासचिव देव गुरुङले आज शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको छ । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याउनु भएको छ ।’ वक्तव्यमा थप लेखिएको छ, ‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेृतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित सम्पूर्ण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ ।’