अनखबर
बुटवल – पाल्पा सडकखण्ड अन्तर्गत सिद्धार्थ राजमार्गको छेउमै रहेको प्रसिद्ध मन्दिर सिद्धबाबा मन्दिरमा भेटी रकममा हिनामिना भएको पाईएको छ ।
तल्लो सिद्धबाबाका नामले प्रसिद्ध मन्दिरमा आउने भक्तजनहरुले दिएको दानमा खुल्लेआम ब्रम्हलुट भएको प्रमाण सार्वजनिक भएपछि यसतबेला बुटवल र त्यस आसपासका सामाजिक सञ्जाल भरिएका छन् । मन्दिरमा सेवा लिएबापत भक्तहरुले बुझाएको रकमको रसिदको अर्धकट्टीमा आधा रकम घटाएर मात्र मन्दिरमा दाखिला हुने गरेको प्रमाण सार्वजनिक भएपछि मन्दिर ब्यवस्थापन समितिमा खैलाबैला मच्चिएको छ ।
रसिद नं. १६८१३ मा काटिएको २०७९ असार २२ गते मिति राखिएका गुलाबी कलरको अर्थकट्टी सेवा नगदी रसिदमा कुमार कार्कीको नाममा रु ११०५ काटिएको छ भने सोही रसिद नम्बर र मितिीमा सिद्धबाबाधाम विकास समितिकै पहेलो रंगको रसिदमा भने रु ५०५ मात्रै काटेको प्रमाण पेला परेको छ ।

यस्तै २०७९ मंसिर २८ गते काटिएको रसिद नं. १७११४ मा काटिएको रसिदमा तिल कुमारी खड्काको रु १००५ देखिएको छ भने सोही नम्बरको रसिदमा अर्थकट्टीमा रु ५०५ रुपैंया मात्रै काटेको देखिएको छ ।


चरम विवादका कारण म्याद सकिएर पनि नयाँ ब्यवस्थापन बन्न नसकेको मन्दिरमा लामो समयबाट अध्यक्ष चलाउँदै आएका कृष्ण प्रसाद तिमिल्सेनाकै मिलोमतोमा वर्षौदेखि दान रकममा हिनामिना हुने गरेको सञ्जालकर्ताहरुले आरोप लगाएका छन् ।
मन्दिरको ब्रम्हलुटका सम्बन्धमा प्रतिक्रियाका लागि फोन गर्दा अध्यक्ष तिमिल्सेनाले फोन उठाएनन् । गत मंसिरमा म्याद सकिएको ब्यवस्थापन समितिको निर्वाचनका लागि सहमती कायम जुट्न नसकेपछि तिमिल्सेनाकै समितिलाई काम चलाउ कार्यसंचालनको जिम्मेवारी दिईएको समितिका एक पूर्व पदाधिकारीले बताए ।