अनखबर
आगामी साउन १९ र २० गतेदेखी बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन हुने भएको छ । धर्म , ज्योतिष तथा वास्तुसँग जोडिएका विषयमा पण्डित ,ज्योतिष र आम नागरिकलाई समेत जानकारी गराउने उद्देश्यसहित उक्त सम्मेलन आयोजना हुन लागेको हो ।
विश्व ज्योतिषी महासंघ लुम्बिनी प्रदेशको आयोजना र लुम्बिनी पूजा सामग्रीको सहआयोजनामा बुटवल सिद्धार्थ कटेजमा गर्न लागिएको सो सम्मेलन सम्मेलनमा नेपाल र भारतका गरी ५०० जनाभन्दा बढीको सहभागिता रहने आयोजकको दाबी छ ।
सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष जनार्दन न्यौपानेले सनातन धर्म पद्धतिअनुसार आशौच परिचय र निर्णयहरू बुझ्न र व्यावहारिक रूपमा कार्यान्वयन गर्न सम्मेलन महत्त्वपूर्णसावित हुने बताए । न्यौपानेले दैनिक जीवनमा गरिने अनेक धार्मिक, ज्योतिषी वा अन्य विशेष अनुष्ठानहरुमा हुने गरेका विविध समस्याहरु आउने र त्यसको यथार्थ व्याख्या र विश्लेषणसहित निश्चित मापदण्डबारेमा छलफल गरि निष्कर्ष निकालिने बताए । सम्मेलनमा तीनवटा कार्यपत्र प्रस्तुत गरिने छ । सम्मेलनको पहिलो दिन धर्मशास्त्र विशेषज्ञ प्रा.डा.देवमणि भट्टराईले अशौच परिचय र निर्णयहरू विषयक कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
दोस्रो दिन ज्योतिष शास्त्रमा वैदेशिक यात्राका विषयमा उपप्राध्यापक लक्ष्मीप्रसाद बराल, प्रशिक्षण वास्तु तथा जीवनमा डा.माधव मंगल जोशीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । ‘बढ्दो वैदेशिक यात्रामा ज्योतिषीय योगहरूको प्रभावका विषयमा सम्मेलनमा विशेष छलफल हुनेछ,’ न्यौपानेले भने, ‘वास्तुसम्बन्धी व्यावहारिक एवं सैद्धान्तिक पक्षको ज्ञान आर्जन गर्न पनि सहयोग पुग्नेछ ।’
सम्मेलनमा धर्म, अध्यात्म, कर्मकाण्ड, ज्योतिष विद्या, योग, तन्त्र, साधना, वास्तु विज्ञ, निर्माण व्यवसायी, व्यापारी, एवं वास्तु विषयसँग रुचि राख्ने र तत्सम्बन्धी काम गर्दै आएका व्यक्तिहरू सहभागी हुने कार्यक्रम संयोजक सुन्दर भण्डारीले जानकारी दिए ।
देखिएका समस्या समाधान गर्न सम्मेलन गर्न लागिएको महासंघका उपाध्यक्ष चेतनारायण सुवेदीले बताए । नेपालमै पहिलोपटक हुन लागेको यो सम्मेलनले समग्र धार्मिक, ज्योतिषीय, वास्तु एवं अुनष्ठानका भ्रामक विषयहरुको अन्त्य गरी नयाँ मापदण्डहरु लागू गरिने र त्यसबारे सम्बन्धित निकायलाई समेत सुझाव दिई, निष्कर्षलाई आधिकारीता दिईनेसमेत आयोजकले जनाएको छ ।