काठमाडौं । संविधानसभा अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्तिम संस्कारका लागि आर्यघाट पुर्याइएको छ ।
नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा तथा एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाई गरे । यसअघि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसारको विधिपूर्वक उठाइएको थियो । उनको अन्त्येष्टि मुन्धुम र हिन्दु सँस्कृति अनुसार गरिँदै छ ।
शवयात्रामा नेपाली सेनाको ब्याण्ड टोली अघि(अघि र शव बोकेको गाडी पछि(पछि थियो । यात्रामा अन्य शुभेच्छुक तथा सर्वसाधारण पनि सहभागी छन् ।संविधानसभा अध्यक्ष नेम्वाङलाई अन्तिम बिदाई गर्न पशुपतिमा पनि सर्वसाधारणको उल्लेख्य संख्यामा उपस्थिति छ । उनीहरु हातमा फूलमाला लिएर लामबद्ध छन् । यो क्षणको दृष्य क्यामरामा कैद गर्न चाहनेहरु र समाचार संकलन गर्ने पत्रकारहरुको पनि संख्या उल्लेख्य छ । गत मंगलबार निधन भएका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उनको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।