बुटवल पश्चिमको सडक स्तारेन्नतिका लागि बोलपत्र आह्वान


अनखबर
बुटवल । निर्माण भएको ६ दशकपछि बुटवल पश्चिमको राजमार्ग स्तरोउन्नतिका लागि बोलपत्र आह्वान भएको छ । सडक स्तारेन्नतिका लागि बुटवल–गोरुसिङ्गे ५० किलोमिटर र गोरुसिङ्गे–चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएको हो ।
तत्कालीन राजा महेन्द्रको पालामा २०१८ निर्माणको शुभारम्भ गरेको बुटवल–चन्द्रौटा सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो । विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि काम सुरु भएको हो । बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक परियोजनाका प्रमुख इन्जिनीयर होमबहादुर एसीले सडक स्तरोन्नतिका लागि साइट खुला गर्न रुख कटान, विद्युतको पोल सार्न सम्बन्धित कार्यालयहरूसँग समन्वय लगायतका काम भैरहेको बताए । हाल दुई लेनमा रहेको सडक स्तरोन्नति गरेर ४ लेनको बनाइने छ ।
उनले विद्युत् कार्यालयसँग छलफल गर्दा पोल सार्न झन्डै ४४ करोड लागत अनुमान गरेको तर त्यस विषयमा अझै टुङ्गोमा नपुगेको प्रस्ट पारे । यस्तै वनसँग रुख नम्बरिङ्गका लागि आग्रह गरिएको छ । अन्तिममा वन विभागको अनुमति प्राप्त गरेपछि रुख कटानको काम सुरु हुनेछ । ती दुई प्रक्रिया पूरा हुना साथ ठेकेदारलाई काम गर्ने बाटो खुल्ने र काम धमाधम चल्ने परियोजना प्रमुख एसी बताउँछन् ।
सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने र ठुला सवारी चलाउनका लागि पनि सहज हुने अपेक्षा गरिएको सडक कार्यालय बुटवलका प्रमुख इन्जिनियर भीम लामाले बताए । डेडिकेटेड चारलेन सडकका विभिन्न ठाउँमा आठ लेन, ६ लेन, अण्डरपास र ओभरपास समेत निर्माण हुने भएको हो ।

स्तारेन्नतीको कामले दुर्गति व्यहोर्न नपरोस : पौडेल

पूर्व अर्थमन्त्री रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले लामो समयदेखिको प्रयासपछि यो सफलता प्राप्त हुन सकेको भन्दै खुसी व्यक्त गरेका छन् । स्थानीय जनताको चाहना र राष्ट्रिय आवश्यकलाई आत्मसाथ गर्दै बुटवल–गोरुसिंगे सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान हुनु सबैका लागि खुसीको विषय भएको उनले बताएका छन् ।
योजना समयमै सक्नुपर्ने सुझाब राख्दै उनले भनेका छन्–‘हामीकहाँ पूर्वाधार निर्माणका आयोजनाहरू निर्धारित गुणस्तर, समय र लागतमा सम्पन्न नहुने चिन्ताजनक अवस्था रहीआएको छ । विश्वबैंकको ऋण लगानीमा सम्पन्न हुने यस् आयोजनाले यस्तो दुर्गति बेहोर्न नपरोस् ।’ स्वस्थ एवम् पारदर्शी प्रकृयाद्वारा सक्षम निर्माण कम्पनी छनोट हुनुपने बताउँदै पौडेलले छनोट हुने कम्पनीले निर्धारित समय र प्रक्षेपित लागतमा गुणस्तरीय निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् ।
यसैगरी छनोट भएको कन्सल्ट्यान्ट कम्पनी ले पनि निर्माण कार्यको प्रभावकारी परिक्षण र सहजीकरण गर्नुपर्ने उनले बताए । पौडेलले बुटवलको तिनाउनदीमा सिक्नेचर पुल निर्माणकार्य पनि विलम्ब नगरी अगाडि बढाउनु पर्ने बताएका छन् । उनले जनप्रतिनिधि र जनस्तरबाट राम्रो कामका लागि सहयोग र गल्ति/कमजोरी हुँदा खबर्दारी गरिने बताएका छन् ।