बुटवल । आजदेखी रुपन्देहीको व्यापार संघको अधिवेशन शुरु हुँदैछ । करिब १६ सय व्यवसायी आवद्ध संघको १२ औं अधिवेशन हनु लागेको हो ।रुपन्देही व्यापार संघको नेतृत्व लिन व्यवसायीका दुई प्यानल अन्तिम तयारीमा छन् ।
नेतृत्व लिन वर्तमान वरिष्ठ उपाध्यक्ष डिल्लिराज भण्डारी र वर्तमान द्वितीय उपाध्यक्ष दिपकप्रसाद अधिकारी अलग अलग प्यानल बनाएर प्रतिष्पर्धामा छन् । भण्डारीले विगतको परम्परालाई कायम राख्दै रोल क्रम अनुसार आफूले अध्यक्षको दाबी गर्दै आएका बताएका छन् भने अधिकारीले विगतमा जस्तो ‘टिके’ प्रथालाई त्यागेर प्रतिस्पर्धाको माध्यमबाट नयाँ पुस्ताले नेतृत्व पाउनु पर्ने बताउँदै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
अध्यक्षका उम्मेदवार भण्डारी २०५७ सालमा संघको कार्यसमिति सदस्य भएयता सचिव, महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष भएर काम गरेका छन् । अधिकारी २०६६ सालमा संघले ब्यापार मेला आयोजना गर्दा उपसमिति सदस्य भएर संघमा सक्रिय हुन थालेका हुन् । उनी २ कार्यकाल सदस्य, २ कार्यकाल कोषाध्यक्ष, २ कार्यकाल उपाध्यक्ष र १ कार्यकाल प्रथम उपाध्यक्ष हुँदै अध्यक्षमा उम्मेदवार बनेका हुन् ।
संघका पुर्व अध्यक्षहरु समेत भण्डारी र अधिकारीको पक्षमा बाँडिएका छन् । पुर्व अध्यक्ष टंकप्रसाद पोखरेल, शंकर भट्टराई, श्रीकृष्ण पोख्रेल र यमलाल लोहनी भण्डारीको पक्षमा खुलेका छन् भने संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली र पुर्व अध्यक्ष मोतिलाल पाण्डेले अधिकारीलाई समर्थन गरेका छन् । पुर्व अध्यक्ष पदम श्रेष्ठ कतै पनि खुलेका छैनन् । वर्तमान अध्यक्ष कृष्णप्रसाद घिमिरे कतै नखुले पनि भित्री रुपमा भने अधिकारीलाई समर्थन गरेको बताइन्छ ।
अध्यक्षका उम्मेदवार भण्डारीले आफूले संघमा हालसम्म गरेको मेहनत र योगदानलाई व्यवसायीले बुझेको भन्दै आफ्नो जित निश्चित रहेको दावी गरे । अर्का उम्मेदवार अधिकारीले भने युवा पुस्तालाई नेतृत्व प्रदान गर्न व्यवसायी आतुर रहेको बताए । “नेतृत्वमा स्पष्ट भिजनसहित युवा पुस्ताले स्थान पाउनुपर्छ भन्ने कुरा युवा पुस्ताले बुझेका छन्, अव परम्परागत ढंगले संघ चल्न सक्दैन”–उनले भने । अधिकारीले संघप्रति व्यवसायीको आकर्षण घट्दै गएको भन्दै व्यवसायीलाई आकर्षित गर्ने गरी आफू अघि बढ्ने दावी गरे ।
संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्सुराम पन्त निर्विरोध भएका छन् । प्रथम उपाध्यक्षमा भण्डारीको प्यानलबाट दयानिधि भण्डारी र अधिकारीको प्यानलबाट ऋषिराम पाण्डे उम्मेदवार छन् । पाण्डे एमाले रुपन्देही सचिवालय सदस्य एवं बुटवल इन्चार्ज हुन् । द्वितीय उपाध्यक्षमा भण्डारीको प्यानलबाट नामदेव पाण्डे र अधिकारीको प्यानलबाट प्रेमनाथ पाण्डे, कोषाध्यक्षमा भण्डारीको प्यानलबाट झविन्द्र अधिकारी र अधिकारीको प्यानलबाट मनिराम खनाल उम्मेदवार छन् ।
सचिवमा भण्डारीको प्यानलबाट मनहरी बस्याल र अधिकारीको प्यानलबाट मनिमदिन मिया, सहसचिवमा भण्डारीको प्यानलबाट प्रकाशराज पौडेल तथा अधिकारीको प्यानलबाट मेघनाथ पौडेल र सहकोषाध्यक्षमा भण्डारीको प्यानलबाट विनित भट्टराई र अधिकारीको प्यानलबाट अर्जुनप्रसाद भट्टराई उम्मेदवार छन् ।