अनखबर
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिकै निर्माण थालिएको बहुचर्चित सुरुङमार्गको कामले गति लिएको छ ।
रूपन्देहीको चिडियाखोला देखि पाल्पाको दोभानसम्म मृत्युमार्ग उपनामले बदनाम सडकको सिद्धबाबा खण्डमा सुरुङ निर्माण कार्यले गति लिएको हो । तराईबाट पहाड भित्रिन प्रयोग हुने यो खण्डको सबैभन्दा जोखिमपूर्ण मानिने पाल्पाको तिनाउ गाउंपालिका– ३ मा १ दशमलव १२६ किलोमिटर लम्बाइको सुरुङमार्ग निर्माणको काम अघि बढेको छ ।
सम्पूर्ण ध्यान केन्द्रित गरी निर्माणमा जुटेको आयोजनाले अन्य कुनै अवरोध नभएको अवस्थामा अबको ४ वर्षमा तराई र पहाडलाई जोड्ने सिद्धबाबा सुरुङमार्ग तयार हुने जनाएको छ ।
अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग गरिएको सुरुङमार्ग वि।सं।२०७९ देखि निर्माण थालिए पनि पछिल्लो ६ महिनायता यसको काम धमाधम भइरहेको छ ।

७ अर्ब ३४ करोड २१ लाख रूपैयांको लागतमा सुरुङमार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको हो । विगत दुई महिनादेखि रातिको समयमा सिद्धार्थ राजमार्गमा गाडी बन्द गरेर काम अघि बढाइएको छ ।

आयोजनाका इन्जिनियर सविता ज्ञवालीका अनुसार अहिलेसम्म झण्डै १२ प्रतिशत भौतिक प्रगति भएको छ । आवश्यक उपकरण व्यवस्थापन र त्यही अनुसारको जनशक्तिसहित काम भइरहेको ज्ञवालीले बताइन। शुरूआतमा कतिपय क्षेत्रमा पर्ने रूखहरू काट्ने अनुमति नपाए पनि अहिले सबै रूख काटेपछि कामले गति लिएको आयोजनाको भनाइ छ ।

सुरुङ दुवैतर्फबाट निर्माण भइरहेको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख रामपुकार जैसवालले तीव्र गतिमा काम भइरहेको बताए ।

सुरुङमार्गको काम शुरू हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५०० मिटरको रकनेट ९जाली० राखिनेछ । अग्लो भीर र अग्लो चट्टानी क्षेत्र भएकाले हिउँदमा समेत सुख्खा पहिरो खस्दा ठूलो जनधनको क्षति हुने गरेको छ ।