संवाददाता
माईतमा गएर कुलको बखान भनेजस्तो आफ्नै गाउँ ठाउँ र नगरको बदनाम गर्न नपरोस् भन्ने कुरा मिडिया तथा नागरिक सरोकारवालाहरुलाई पनि हुने गर्छनै । अझै त्यसमाथि देशकै चर्चा र लोकप्रियता कमाएको वालिङ नगरपालिकाको बदनाम होस् भन्ने हामी कसैलाई हुदैन र छैन् पनि । तर दुर्भाग्य स्मार्ट सिटी बनाउने योजना अलपत्र र लठपत्र पारेर वेवारिसे बनेको नगरपालिका भित्र यति घिनलाग्दो र डरलाग्दो खेल भईरहेको छ,जुन कतिपयलाई विश्वास गर्न समेत कठिन हुनेछ । वालिङ्को फोहोरमैला प्रशोधन गर्न फोहोर मैला छुट्टयाउने मेसिन किन्न २०७८ माघ १६ गते तत्कालीन नगर प्रमुख दिलिप प्रताप खांणको पालामा प्रक्रिया अगाडि बढ्यो । मेसिनका लागि नगरपालिकाले सोही बेला १ करोड ३० लाखको ठेक्का लगायो । सरसफाइ केन्द्रका लागि मेसिनरी औजार खरिदको ठेक्का खैरबाङ निर्माण सेवा जाजरकोटले पाएको थियोे । ठेक्का पाएपछि निर्माण कम्पनी र नगरपालिका विच १ करोड ६ लाखमा मेसिन खरिद गर्ने सम्झौता भयो ।

तर आज ३ बर्ष बित्दा समेत ठेकदार कम्पनीको लापरबाहीले सम्झौता अलपत्र पारियो र वास्ता गरिएन् । कम्पनीको गैरजिम्मेवार र अटेरीको कारण झण्डै ३ बर्ष बित्दा पनि सम्झाैता बमाेजिमकाे सामग्री नगरपालिकालाई दिईएन ।

निर्माण कम्पनीका तर्फबाट तत्कालीन वालिङ ८ का वडा अध्यक्ष कमल सुवेदीको छोरा सिर्जन सुवेदीले नगरपालिकासँग ठेक्का सम्झौता गरेका थिए । २०७८ माघ १६ गते १ करोड ६ लाखको ठेक्का सम्झौता गरी तत्कालीन समयमा ठेकेदार सुवेदीले २१ लाख रुपैयाँ पेश्की स्वरूप लगेका पनि हुन ।
अगिल्लो नगर नेतृत्वले सम्झौता गरेको अस्वभाविक ठेक्कापट्टा नयाँ नेतृत्व झस्किए पछि अहिलेसम्म त्यो ठेक्का अलपत्र परिरहेको थियोे ।
यत्रो समयसम्म जिम्मेवारी पूरा नगरेपछि उक्त ठेकदारको सम्झौता खारेज गरि नयाँ प्रक्रियामा जान नगरपालिकाको २०८० फाल्गुन २४ गतेको ३० औं बैठकले सम्झौता खारेज गर्ने निर्णय गरेको थियोे ।
सम्झौता खारेज गर्ने निर्णय गरेको नगरपालिकाले अहिले एकाएक चोर झ्यालबाट सोही कम्पनीलाई मेसिन ल्याउने सम्झौता दिएर गम्भीर र घिनलाग्दो चलखेल सुरु गरेको छ । आफैंले सम्झौता भंग गरेको कार्यपालिकाले पुनःसम्झौता सकारेर मेसिन खरिद गर्ने खेलमा लागेको हो ।
यता बायोमास अल्टरनेटिभ रिनवेल ईनर्जी कम्पनीले
नगरपालिकालाई निशुल्क फोहरमैला प्रशोधन मेसिन ट्रायलका लागि दिने बताएरहेको छ तर निशुल्क मेसिन दिन्छु भनिरहेको कम्पनीलाई वेवास्ता गरेर ४२ लाख पर्ने मेसिनलाई १ करोड ६ लाख रुपैयामा टेण्डर गराएर राजनीतिक आडमा गम्भीर आर्थिक चलखेल र षड्यन्त्र भईरहेको कार्यपालिकाका जिम्मेवार सदस्यले अकला आवाजलाई बताए ।
उनका अनुसार ३ बर्षसम्म सम्झौता अनुसारको काम नगर्ने कम्पनीलाई होइन उल्टै नगरपालिकालाई प्रक्रियागत्त दोष देखाएर जबर्जस्ती मेसिन खरिद गराउन दबाब दिएको बुझिएको छ ।
यश बिषयमा तत्कालीन नगर प्रमुख दिलिप प्रताप खांणलाई अकलाले प्रश्न गर्दा युएनडिपी र नगरको संयुक्त बजेटमा टेण्डर गरिएको बताए । टेण्डर प्रतिस्पर्धामा कसलाई पर्छ त्यो फरक कुरा हो तर प्रक्रिया कानुनसम्मत भएको तर्क गरे । यो प्रक्रियामा आफ्नो कुनै स्वार्थ नभएको जिकिर पुर्व प्रमुख खांणको थियोे भने यता उपमेयर कविता तिवारीले मेसिन खरिद गर्ने भनिएको बजेट युनडिपिको नभई नगरपालिकाको बजेट भएको बताईन् ।
कुनै एउटा छुट्टै कम्पनीले ट्रायल मेसिन निशुल्क दिन्छु भनिरहेको बेला नगर कोषको करोडौं खर्चेर मेसिन खरिद गर्न दबाब र चलखेल दिएको भन्दै खेद प्रकट गरिन् ।