संवाददाता
स्याङ्जाको वालिङ नगरपालिका १ त्रियासीमा गैरकानुनी ढंगले सञ्चालन गरिएको काेष मार्फत कोष सञ्चालकहरुले करोडौं रकम हिनामिना गरेपछि सर्वसाधारण नागरिकहरु सडकमा आएका छन् । पिडित नागरिकहरुले संघर्ष समिति गठन गरेर आन्दोलन समेत शुरु गरेका हुन। त्रियासी कोषमा झण्डै ३ कराेड र खहरे क्षेत्रमा सञ्चालित अवैध कोषले २ करोड भन्दा बढी रकम हिनामिना गरेको स्रोतले अकला आवाजलाई बताएको छ ।

कोष रकम हिनामिना र जनताको पैसा दुरुपयोग गर्नेमा काङ्ग्रेस सम्बद्ध प्रभावशाली नेताहरू भएको स्थानीयले बताएका छन् भने कतिपय रकम दुरुपयोग गरेर विदेश गएर बसेको बुझिएको छ ।
सर्वसाधारण नागरिकले एकछाक खाएर जम्मा गरेको काेषको रकम हिनामिना गरेपछि झण्डै २ सय बढी नागरिक पिडित बनेका छन् ।
गत शनिवार संघर्ष समितिले सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना समेत गरेको थियो ।

सुनुवाइ कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति केदार काफ्ले,शिक्षक संघका नेता लक्ष्मी प्रसाद रेग्मी लगायतका नेताहरू सहभागी भएका थिए । यता पिडितहरुले काेषका संयाेजकले रकम हिनामिना गराएको दाबी गरिरहेका छन् ।
कोष सञ्चालक खेमनारायण रेग्मी,हुमनाथ रेग्मीहरुले कोष रकम दुरुपयोग गरेको आरोप पिडितहरुको छ तर घटनाको प्रकृति र कोष रकमको अवस्था हेर्दा प्रभावशाली राजनीतिक तथा सामाजिक व्यक्तित्वहरुले १५ लाख देखि ४३ लाखसम्म कोषको रकम दुरुपयोग गरेको देखिएको छ ।

शनिबार भएको सार्वजनिक सुनुवाइमा जनता आक्रोशित भएपछि सहभागी नेताहरूले आश्वस्त बनाउन कोशिश गरिरहेपनि कारोबारको जालो र घटनाक्रम सजिलोसँग मिल्ने भने देखिदैन ।
कोष अबैध भएकोले कानुनी मुद्दा बनेको खण्डमा समेत यहीँ बिधीबाट समाधान हुन्छ भने एकिन छैन तथापि सर्वसाधारण नागरिकको कोष दुरुपयोग गराएर भाग्ने छुट भने कसैलाई हुदैन ।