अनखबर
रमेश स्मृति कोषले कतारमा कार्यक्रम गरी साहित्यकार सरस्वती बस्याललाई पुरस्कृत गर्ने भएको छ।
कतारको नज्मास्थित एसियन स्टारमा सन् २०२४ मे १७ मा बस्याललाई ‘रमेश स्मृति सम्मान-२०८०’बाट पुरस्कृत गर्न लागिएको कोषले जानकारी दिएको हो।
कोष र समाज सेवा अभियान रुपन्देही कतारको संयुक्त आयोजना तथा उज्यालो लाल्टिन प्रतिष्ठान र विशाल अनलाइन सोलुसन बुटवलको सहकार्यमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गर्न लागिएको हो।
पुरस्कार प्रदान गरिने स्रष्टा छनौट गर्नका लागि दीप मिलनको संयोजकत्वमा राजीव सापकोटा र सोतन्त्र नेपाल सदस्य रहेको छनोट समिति गठन भएको थियो। २०८० फागुन २१ गते समितिले भत्किएको पर्खाल कृतिका लागि बस्याललाई पुरस्कृत गर्न सिफारिस गरेको थियो।
बस्याल रूपन्देहीको देवदहमा बसेर साहित्य तथा समाज सेवामा सक्रिय छिन्। २०७२ सालदेखि प्रदान गरिँदै आएको यो पुरस्कार पहिलो पटक महिला स्रष्टालाई सम्मान गर्न लागिएको हो।
कोषका अनुसार नेपाली साहित्यको चोटिलो मुक्तक विधामा सक्रिय साधनासँगै सम्भवत: देशमै पहिलोपटक आमा छोराको संयुक्त कृति निकालेर अतुलनीय योगदान गर्नुका साथै हरिलट्ठकसँग सम्बधित क्रियाकलापमा सक्रिय भूमिका निर्वाह गर्दै आएकाले यो सम्मान प्रदान गर्न लागिएको जनाएको छ।
साहित्यकार रमेश हरिलट्ठकको स्मृतिमा यो पुरस्कार प्रदान गरिँदै आएको हो। गीत, गजल, कविता, मुक्तक, कथा र हाइकूलगायतका विधामा हरिलठ्ठकले कलम चलाउँथे। विक्रम संवत् २०३७ साल फाल्गुण २१ गते जन्मिएका हरिलठ्ठकको २३ वर्षकै उमेरमा २०६१ श्रावण २१ गते निधन भएको थियो। उनको अंग्रेजी भाषामा टेन गजल नामक गजलसंग्रह पनि प्रकाशित छ।
कतार कार्यक्रमको मिडिया पार्टनरमा बुलबुल फाउन्डेसन, मध्याह्न दैनिक, सेतोमसी डिजिटल पत्रिका, साहित्य पोस्ट, सिम्रिक आवाज, फरक अनलाइन, सेतो कागज र अकबरे छन्।
कार्यक्रममा लेखक पूर्ण बिसीको उपन्यास ‘आमा’ सार्वजनिक कार्यक्रम पनि गरिने भएको छ।