क्रान्ति अर्याल/गल्याङ्
गल्याङ नगरपालिकाको जलचर तथा जलिय जैविक विविधता संरक्षण विधेयकको मस्यौदा माथि छलफल तथा परामर्श गरिएको छ । गल्याङमा नगर स्तरीय कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको हो ।
गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा गल्याङ नगरपालिकाको आयोजना र USAID जल जंगल परियोजनाको सहयोगमा गल्याङ नगरपालिकाको जलचर तथा जलिय जैविक विविधता संरक्षण विधेयकको मस्यौदा माथि दफावार रूपमा छलफलको लागि नगर स्तरीय कार्यशाला गोष्ठी आयोजना गरिएको थियोे ।
कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टराईले आधिखोला र कालीगण्डकीको संरक्षण गर्दै सामुहिक लाभ हुने गरी कार्यक्रम अगाडि बढाउनु पर्ने बताए । प्रमुख भट्टराईले नगरपालिकाको आयमा वृद्धि तथा आन्तरिक राजस्वमा वृद्धि हुने गरि यसको प्रयोग र उपयोग गरी समुदायको राय सुझाव लिएर मस्यौदा तयार पारी अगाडि बढ्ने पक्षमा नगरपालिका रहेको जानकारी दिए । वातावरणीय प्रभावका कारण जलीय जलचर ह्रास हुदै आएकोमा यसलाई सिंगो समुदाय मिलेर संरक्षण र प्रवर्द्धन गर्ने कुरामा जोड दिएका छन् । 

प्रकृति संरक्षण, मानव समृद्धि र सुरक्षित भविष्यको लागि परिस्थितिक प्रणाली तथा वन्यजन्तुमा हुने बहुआयामिक जोखिम कम गर्ने मुख्य लक्ष्यका साथ संचालित जल जंगल परियोजनाका बारेमा सिनियर जेसी अफिसर सुनिल चौधरीले प्रस्तुती गरेका थिए ।

त्यस्तै USAID जल जंगलका प्राविधिक निर्देशक नारायण बेलबासेले गल्याङ नगरपालिका भित्रका नदी तथा खोलाहरूमा रहेका माछा तथा अन्य जलचरहरूको संरक्षण र दिगो उपयोग गरी नगरवासीहरूले आफ्नो जिविकोपार्जनमा सुधार ल्याउन सक्ने सम्भावना रहेकोले यसका लागि ठोस समावेसी कानुनको तर्जुमा तथा कानुन कार्यान्वयनको आवश्यकता रहेको बताए ।

गल्याङ नगरपालिकाका जनप्रतिनिधी, सरोकारवाला संघसंस्थाका प्रतिनिधी एवं समुदाय लगायतको राय सल्लाहको आधारमा तयार गरिएको उक्त मस्यौदा छिट्टै नगरपालिका कार्यपालिका मार्फत नगर सभामा पेश गरि सभाबाट पारित भए पछि कानुनका रुपमा लागु हुने जनाइएको छ ।
उक्त कार्यक्रममा USAID जल जंगलका operation officer विदित शाह, गल्याङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका वडा अध्यक्षहरु ,कार्यपालिका सदस्यहरु, क्रियाशील राजनीतिक पाटीका प्रमुख तथा प्रतिनिधिहरु, नगरपालिकामा कार्यरत शाखा प्रमुख, कर्मचारीहरु, आमा समूह, महिला, दलित तथा अपाङता भएका व्यक्तिहरूको संजालका प्रतिनिधीहरू, क्लब लगायत सम्बन्धित सरोकारवालाहरुको उल्लेख उपस्थिति रहेको थियो । सहभागिहरूले यसरी सहभागिता मुलक र समावेसी तरिकाले विधेयक मस्यौदा तयार पार्न नगरपालिकालाई सहयोग गरेकोमा उपस्थित विज्ञ तथा सहजकर्ताका साथै सम्पुर्ण USAID जल जंगल परियोजनालाई धन्यवाद दिएका छन ।
यस अघि विधेयकको खाका तथा मुख्य प्रावधानहरूबारे नगर तथा वडा स्तरीय र समुदाय स्तरीय छलफल परामर्श बैठकहरू गत शनिबार देखि गल्याङ नगरपालिकाका छुट्टाछुट्टै स्थानमा संचालन गरिएको थियो ।
उक्त कार्यक्रमको संचालन वातावरण खानेपानी तथा सरसफाइ सहकारी शाखा प्रमुख थानापती न्यौपानेले गरेका थिए ।