बुटवल
कोहीलाई अप्ठारोमा पर्नासाथ सहयोगी हात फैलाएर अरुको दुखमा साथ दिने मान्छे माझी उर्फ विवेक रायमाझीलाई के थाहा आफ्नै परिवारलाई गुहार दिन पाउँदिन भन्ने । अस्तीदेखी आईरहेको निरन्तर बर्षाको कारण सडकमा पहिरो र बाढीले सयौंजना निहत्था नागरिकले आफ्नो ज्यान गुमाउनुपरेको छ । त्यही ज्यान गुमाउनेहरुको लिष्टमा आफ्ना जीवनका सबैभन्दा नजिकका मान्छेसहित सर्वस्व परिवार नै गुमाउनु परेको छ, विवेकले । आफूले जन्माएको २ बर्षको छोरो लिएर आफ्नो ससुरा वुबासँग काठमाडौं हिडेकी श्रीमति प्रमिता अब कहिल्यै नआउनेगरी आफ्नो छोरोसमेत लिएर अस्ताएकी छन् ।
केही दिन अगाडीमात्रै आफ्नो नागरिकताको प्रतिलिपि बनाउन भन्दै काठमाडौंबाट गुल्मी आएकी झिरबासकी प्रमिता भुसाालले साढे ३ बर्ष अगाडीमात्रै विवेकसँग लगनगाँठो कसेकी थिईन् । अबोध बाल्यबस्थामै आमा गुमाएर परिवारको मायाबाट बञ्चित भएका विवेकलाई आमा र श्रीमतिको माया दिएकी थिईन प्रमिताले । यस्तो भन्न सकिन्छ कि प्रमिताको आगमन विवेकको लागी नयाँ जीवन थियो । शालिन र सरलताको प्रतिक थिईन प्रमिला उनकै प्रेमले उर्जा भरिएको थियो विवेकको जीवनमा । २ बर्षअगाडी प्रेमको अर्को डोब थपियो । क्रिश । उनले छोरो पाईन विवेक बुवा बने । उनको हर टिकटक र रिल्सहरुमा उनै दुई जिन्दगीका प्रमुख पात्रहरुले भरिएका छन् । लामो समय बुटवलको योगिकुटिस्थित शान्तिचोकमा बाईक अड्डा हुँदै फल्स सिलिङ्ग, नास्ता पसल लगायतबाट व्यवसायीक यात्रा गरेका विवेकले आफ्नो यात्रालाई अझ उचाईमा लैजान चहान्थे । त्यसैले झण्डै ६ महिना अगाडीमात्रै उनी काठमाडौंको थानकोटमा गई मोटरसाईकल मर्मत केन्द्र चलाईरहेका थिए ।
असोज ११ गते विहान कालिकानगरस्थित आफ्नो सानिआमाको घरमा बसेकी प्रमितालाई बुवाको सराद परेकोले काठमाडौं सँगै जानुपर्ने थियो । बुवा बसपार्कमा हुनुहुन्थयो । आफ्नो अंकलले विहान ७ बजे काठमाडौं जाने लु २ ख ४५७८ नम्बरको विङ्गरमा चढाएर फर्कनुभएको थियो । १/१ घण्टामा फोन गरिराखेकी विवेककी सानिमाले भक्कानिदैं, भनिन् ‘बाबु भर्खर हिड्न सुरु गरेको थियो, नानीलाई आज पानी आईरहेको छ नजा नजा भनेको’ उनी बोल्न सकिनन्, हिजो खबर पाएदेखी नै अचेतजस्तै भएर ढलिरहेकी छन् । आमा गुमाएपछि मामाहरुको छत्रछायाँमा हुर्केका विवेकको घर गुल्मी दरबार गाउँपालिका चारपालामा पर्छ । पहिरोमा नाती र बुहारीसँगै परेका बुवा विरबहादुर रायमाझी भारतमा सेवारत थिए । लामो समय दिल्ली बसेपछि उनी अब नजानेगरी यतै आएका थिए । तर पहिरोले उनलाई कहिल्यै नर्फकने गरी लिएर गएको छ । उनीसँगै लामो समय सँगै बसेका भाई पोषण पाण्डेले हिजो खबर पाएदेखी छट्पट्रिहेका छन् । ‘दाईलाई फोन गर्न सकिरहेको छैंंन, तीनजनाकै लास शिक्षण अस्पताल, काठमाडौंमा राखिएको जानकारी आएको छ ।’ मौसम खराबीको कारण काठमाडौ गईहाल्ने अवस्थापनि छैन ।
एउटा दुखबाट भर्खरै उठेर आफ्नो जीवनको लय समात्दै थिए विवेकले । सामाजिक यात्रा र व्यवसायीक यात्रा सँगै गरेका विवेकको खुसी त्यही सानो परिवारमा थियो । परिवारको सल्लाहमै काठमाडौं गएर व्यवसाय गर्ने निधो गरेका उनले हरेकदिन परिवारको खुसीको लागि धेरै संघर्ष गरे । राती १२ बजेसम्मपनि फोन उठिरहेको थियो । विवेकले फेसबुकमा भावुक हुँदै लेखेका छन् । ‘५ मिनेटमा लिन आउनु भन्थ्यौ, तर मलाई अर्को ठाउँमा बोलाएर तिमि कहाँ गयौं ?’
अविरल बर्षाको कारण धादिंगको नौविसे नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा परि हिजोमात्र १४ जनाको लास निकालिएको थियो भने आज पनि सोही क्षेत्रमा अर्को बस पुरिएको अवस्थामा भेटिएको छ ।