खबर संवाद
काठमाडौं । स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ । लिग २ मा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध ३–१ को नतिजा निकालेको नेपाली टीमबाट टी– २० सिरिजमा पनि लय कायम राख्ने आशा समर्थकहरुले राखेका छन् । लिग २ श्रृंखला आईसीसीको प्रत्यक्ष रोहवरमा भएको थियो भने टी– २० श्रृंखला स्कटल्यान्डले आयोजना गरेको हो । हिजो सुरु भएको टी– २० श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स भिडेका थिए । स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएर उत्कृष्ट सुरुवात गरेको छ । लिग २ मा खराब नतिजा व्यहोरेको नेदरल्यान्ड्सले टी– २० श्रृंखलामा पनि चाहे जस्तो सुरुवात गर्न सकेन ।
यो सिरिजलाई नेपालको टी– २० विश्वकप छनोट तयारीका रुपमा हेरिएको छ । अक्टोबर ८ देखि १७ सम्म ओमानमा एसिया–इस्ट एसिया प्यासिफिक क्षेत्रको विश्वकप छनोट हुन लागेको छ, जसमा नेपाल, ओमान, यूएई, जापान, कुवेत, मलेसिया, पपुवा न्युगिनी, कतार र समाओले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको शीर्ष ३ स्थानमा रहने टोली भारत र श्रीलंकामा अर्को वर्ष हुने टी– २० विश्वकपमा छनोट हुनेछन् । नेपालले यसै प्रतियोगितामार्फत लगातार दोस्रो पटक टी( २० विश्वकप खेल्ने धोको बोकेको छ । त्यसैले तयारीका लागि कुनै पनि कसर छोड्न चाहँदैन । यस टी– २० श्रृंखलामा नेपालका प्रमुख दुई अलराउन्डर सोमपाल कामी र गुल्शन झा उपलब्ध छैनन् । उनीहरु लिग २ को अन्तिम खेलअघि घाइते भएपश्चात अहिले नेपाल फर्किसकेका छन् । उनीहरुको स्थान पूर्ति गर्न नेपाल क्रिकेट संघ (क्यान)ले तीन खेलाडी किरण ठगुन्ना, लोकश बम र रुपेश सिंहलाई स्कटल्यान्ड पठाइसकेको छ । उनीहरु आजको खेलका लागि उपलब्ध हुनेछन्, तर तीनै जनाले एकै पटक प्लेइङ ११ मा स्थान पाउन सक्ने अवस्था छैन । कम्तीमा एक जनाले आजको खेलमा मौका पाउने अपेक्षा गरिएको छ ।
नेपालको टप अर्डरमा धेरै फेरबदलको सम्भावना छैन । नेपालले यसअघि खेलेको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा ओपनर जोडीका रुपमा कुशल भुर्तेल र आसिफ शेख थिए । अहिले पनि यही जोडीलाई प्रशिक्षकले ओपनिङमा उतार्न सक्ने सम्भावना छ । यद्यपि, आसिफ शेख त्यति राम्रो फर्ममा नभएकाले अनिल साह वा लोकेश बमलाई कुशलको जोडी बनाउने विषयमा पनि उनले सोच्न सक्छन् ।
नेपालले तेस्रो नम्बरमा कसलाई उतार्छ भन्ने निधो छैन । यसअघि धेरैजसो कुशल मल्ल तेस्रो नम्बरमा आउने गरेकोमा उनी यो भ्रमणमा समेटिएका छैनन् । त्यसैले कप्तान रोहित पौडेल आफै तेस्रो नम्बरमा आउन सक्ने सम्भावना छ । यदि परिस्थितिले डिमान्ड ग¥यो भने प्रशिक्षकले अर्को निर्णय लिन पनि सक्छन् ।मध्यक्रममा नेपालले किरण ठगुन्नालाई डेव्यु गराउन सक्ने सम्भावना रहेको बताइन्छ । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ठगुन्नाले अघिल्लो महिना बैकल्पिक खेलाडीका रुपमा हङकङ पुगे पनि डेव्यु गर्न पाएका थिएनन् । अहिले गुल्शन र सोमपालको अनुपस्थितिले पैदा गरेको रिक्तता पूर्ति गर्ने क्रममा उनले स्थान पाउन सक्छन् ।
नेपालसँग आरिफ शेखलाई मध्यक्रममा एडजस्ट गर्ने अर्को विकल्प पनि छ । यसअघि टी( २० मा खासै नचलेका आरिफले लिग २ मा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसैले उनको फर्मलाई हेरेर टी( २० अन्तर्राष्ट्रियमा कमब्याक गराइन सक्छ । गुल्शनको अनुपस्थितिमा नेपाललाई एक जना पार्टटाइम पेस बलरको अभाव हुने भएकाले पनि आरिफको सम्भावना बढेको हो । यस्तै मध्यक्रममा युवा ब्याट्सम्यान बसिर अहमद तथा अनुभवी अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि नेपालसँग रहनेछन् । फास्ट बलिङमा सोमपालको अनुपस्थितिमा नन्दन यादवले करण केसीलाई साथ दिनेछन् । स्पिनको मोर्चा सदा झैं सन्दीप लामिछाने र ललितनारायण राजवंशीले सम्हाल्नेछन् ।

नेपालको प्लेइङ ११ को सम्भावित सूची यसप्रकार छः

कुशल भुर्तेल
आसिफ शेखरअनिल साह
रोहितकुमार पौडेल
किरण ठगुन्ना
आरिफ शेख
दीपेन्द्रसिंह ऐरी
बसिर अहमद
नन्दन यादव
करण केसी
सन्दीप लामिछाने
ललितनारायण राजवंशी