खबर संवाद
बुटवल । बुटवलमा यस वर्ष औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्नका लागि दुई संस्थाका आआफ्नै दाबी हुँदा बीच विवाद सिर्जना भएको छ । रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघ बुटवलले आगामी पौष महिनामा व्यापार मेला आयोजना गर्नका लागि विवादमा उत्रिएका छन् ।
रुपन्देही उद्योग संघले शनिबार बुटवल मण्डपस्थित प्रदर्शनी केन्द्रमा आफ्नो व्यानर राखेर मेला आयोजना गर्ने बताएपछि उद्योग व्यापार संगठनले पत्रकार सम्मेलन गर्दै उक्त ठाउँमा आफूहरुले मेला गर्न पाउनु पर्ने दाबी गरेको हो । संगठनले यसअघिनै मेला स्थालमा आफ्नो प्रचार सामग्री राखेर मेला आयोजना गर्ने जनाएको थियो । एक वर्षअघिदेखि तयारी थालेको पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव २०८२ मा भांजो नहाल्न भन्दै उद्योग ब्यापार संघ बुटवलले पत्रकार सम्मेलन मार्फत चेतावनी दिएको छ ।
उद्योग ब्यापार संघले बुटवल मण्डपमा २०८२ पुस ५ देखि १८ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला आयोजना गर्ने निर्णय गरी गत पुस २१ गते बुटवल उपमहानगरपालिकामा निवेदन दर्ता गरेको जनाएको छ । यस्तै शहरी विकास मन्त्रालय विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिमा मेला आयोजना गर्न स्थानको स्वीकृतिका लागि निवेदन दिएकामा उक्त समितिले बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाईलाई पत्राचार गर्दै पुस ४ अगावै निर्माण कार्य पूरा गरी स्थान दिन निर्देशन गरेको थिएको समेत संगठनले जनाएको छ ।
मेलाका लागि हालसम्म ३० प्रतिशत तयारी पूरा गरेको समेत जनाइएको छ ।
आफूले एक वर्षदेखि तयारी गरेको मेलाका सम्बन्धमा महिनौंसम्म सार्वजनिक रुपमा मौन बसेको उद्योग संघले एक्कासी बोर्ड राखेर सरासर गलत काम गरेको उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए । बुटवलका चार व्यवसायिक संस्थाबीच भएको सहमतिलाई रुपन्देही उद्योग संघले तोडमोड गरी एकतर्फी ब्याख्या गरेर बलमिच्याई गरेकाले कदापी स्वीकार्य नहुने अध्यक्ष पाण्डेले स्पष्ट पारे ।
‘कान्छो संस्था भनेर अवमूल्यन गर्ने दिवासपना नदेख्न आग्रह छ, हाम्रो मेलामा अवरोध भएमा अरुले मेला सञ्चालन गर्न सक्दैनन्,हामी दिंदैनौं’–अध्यक्ष पाण्डेले भने–‘हामी चार संस्थाबीच सहमतिमै आलोपालोमा पुसको मेला गर्न पाउनुपर्छ भन्ने अडानमा छौं, रुपन्देही उद्योग संघले द्वन्द्व निम्त्याउन खोजेको छ, हामीले द्वन्द्व चाहेका छैनौं, तर निहुं खोजेर भांजो हाल्न खोजेमा सशक्त प्रतिवाद गर्छौं ।’
उद्योग ब्यापार संघका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले २०७८ पुसमा आफूहरुले देविनगरमा मेला सञ्चालन गर्दा अन्य तीन संस्थाबीच आलोपालोमा विवाद नहोस् भनेर ततीन संस्थाको नाम उल्लेख भएको र आफूहरु आयोजक भएकाले चौथो पालो स्वतः आफूहरुको भएको बताए । बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही ब्यापार संघ र रुपन्देही उद्योग संघले पाएको अधिकार आफूहरुले पनि स्वभाविक रुपमा पाउनुपर्ने भन्दै उनले आफूहरुलाई बाइपास गरेमा औद्योगिक प्रदर्शनी चल्न नसक्ने स्पष्ट पारे ।
संघका निवर्तमान अध्यक्ष गोविन्दराज गैरेले उद्योग संघले २०७८ को आफूहरुको मेलामा पनि अवरोध गर्न खोजेको आरोप लगाउँदै कोभिड महामारीका बीच पनि सफलतापूर्वक मेला सम्पन्न गरेको बताए । बुटवल मण्डपमा विगतदेखिनै बुटवल उद्योग वाणीज्य संघ, रुपन्देही व्यापार संघ र रुपन्देही उद्योग संघले आलोपालो व्यापार मेला आयोजना गर्दै आएका छन् ।