१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बुटवलमा भएको सभालाई सम्बोधन गर्दै जेन्जी विद्रोहपछि फेरिएको भनेको कांग्रेसमात्रै भएको दाबी गरेका छन्, उनले अरु सबै पार्टीले भन्दा कांग्रेसले आफूलाई सञ्चाएको भन्दै जनताले ५ बर्ष म्याण्डेट दिन आग्रह गरे । सभापति गगनकुमार थापाले कांग्रेसका सबै नेता–कार्यकर्ताहरूलाई आफैंलाई उम्मेदवार मानेर आमनागरिकसँग मत माग्न आग्रह गरेका छन् । रूपन्देहीको बुटवलमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उम्मेदवार एक्लैले मेहनत गर्न नहुने भन्दै नेता–कार्यकर्ताहरूले आफैंलाई उम्मेदवार मानेर मत माग्नुपर्नेमा जोड दिएका हुन् ।
‘यहाँको उम्मेदवारले यहीँ मेहनत गर्नुपर्छ । सबैले गरिराख्नुभएको छ । तर, त्यो उम्मेदवार एक्लै मेहनत गर्नु हुँदैन,’ सभापति थापाले भने, ‘तपाईं प्रत्येक उम्मेदवार बनिदिनुपर्छ । तपाईंले प्रत्येक घरमा गएर भनिदिनुपर्छ– उम्मेदवार मै हुँ ।’ सभापति थापाले नेता–कार्यकर्ताहरूलाई घर–घर गएर गगन थापा बनेर मत माग्न पनि आग्रह गरे । कांग्रेसले आज रुपन्देहीको बुटवलमा आयोजना गरेको आमसभामा सभापति थापाले भने– कांग्रेसलाई भोट नहाल्नुपर्ने कुनै कारण छैन, तपाईंहरुले सबै मतदातालाई स्पष्ट रुपमा भन्नुस्।
सभापति थापाले कांग्रेसले मात्रै देशलाई सम्हाल्न सक्ने दाबी गरे। ‘पहिलेका चुनावमा पनि पुरानाले सबै बिगारे, हामी बनाउँछौं भनेर नयाँ पार्टीहरुले भोट मागे, अहिले पनि नयाँ भन्नेहरुले त्यही भनेर भोट मागरिरहेका छन् तर, देश सम्हाल्न कति गाह्रो छ भन्ने उनीहरुले बुझेका छैनन्।’