अनखबर
नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा पूर्वसांसद छिरिङ ल्हमुले पार्टीका सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै स्वतन्त्र राजनीतिक यात्रामा अघि बढ्ने घोषणा गरेकी छन् ।
विहीबार सार्वजनिक वक्तव्यमार्फत ल्हमुले आफूले पार्टीभित्रका गतिविधिप्रति असन्तुष्टि जनाउँदै यस्तो निर्णय लिनुपरेको बताएकी हुन्। प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा माओवादी केन्द्रबाट समानुपातिक सांसद रहेकी उनले केही नेताहरूको व्यवहार र पार्टीभित्रको वातावरणले आफूलाई अलग हुने अवस्थामा पुर्याएको उल्लेख गरेकी छन्।
वक्तव्यमा उनले आफूलाई निर्णय लिन बाध्य बनाउने प्रवृत्तिमाथि कटाक्ष गर्दै लेखेकी छन्, “मलाई यो निर्णय लिन बाध्य बनाउने संकीर्ण, असहिष्णु र निषेधको राजनीतिलाई धन्यवाद दिन चाहन्छु, किनकि त्यसैले मलाई स्वतन्त्रताको मूल्य अझ गहिरो रूपमा बुझाएको छ।”
ल्हमुले आफ्नो राजनीतिक जीवनमा विभिन्न किसिमका दबाब र अवरोध सामना गर्नुपरेको दाबी पनि गरेकी छन्। उनका अनुसार आफूविरुद्ध चौतर्फी षड्यन्त्र रच्ने, आत्मबल कमजोर बनाउने तथा राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने प्रयास पटक–पटक भएका थिए।