खबर संवाद
काठमाडौं । आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको विशाल लक्ष्य दिएको छ ।स्कटल्याण्डको डन्डीमा रहेको फार्थहिल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २३ रनको विशाल योगफल तयार गर्यो ।
स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय ईनिङ खेले । कप्तान बेरिङ्टनले १ सय १४ बलमा ६ चौका र ४ छक्काको सहयोगमा रहँदै १ सय २ रनको शतकीय पारी खेले । शतक बनाएका बेरिङ्टन ४८औं ओभरको तेस्रो बलमा गुलशन झाबाट रन आउट हुन पुगेका थिए । नेपालले ५.४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिदै महत्वपूर्ण सुरुवात गरेको थियो । तर, तेस्रो विकेटका लागि कप्तान बेरिङ्टन र चार्ली टेयरले ९४ रनको साझेदारी गरे ।
टेयरले ६५ बलमा ९ चौकाको सहयोगमा ६८ रन जोडे । चार्लीलाई नेपालका स्पिन बलर ललितले आउट गराए । चार्ली २२ औं ओभरको पाँचौ बलमा आउट भए । त्यसपछि चौथो र पाँचौ विकेटका लागि खास साझेदारी बन्न सकेन । १७ रन जोडेका फिन्लेलाई दीपेन्द्रले आफ्नै बलमा उत्कृष्ट डाइभका साथ क्याच गर्दै पेभेलियन फर्काएका थिए । पाँचौ विकेटका रुपमा म्याथ्यु क्रस ३ रनमा आउट भएका थिए ।
तर, छैठौं विकेटका लागि कप्तान बेरिङ्टन र माइकल लिस्कले १ सय २५ रनको महत्वपूर्ण साझेदारी गरि टोलीलाई बलियो योगफलसम्म पुर्याए । लिस्कले ६२ बलमा १२ चौका र ३ छक्काको सहयोगमा अविजित रहँदै ९६ रन बनाए । नेपालका लागि पहिलो सफलता करण केसीले दिलाएका थिए । तीव्र गतिका बलर करणले शुन्य रनमा स्कटल्याण्डका जर्ज मुन्सीलाई आउट गराएका थिए । नेपाललाई दोस्रो सफलता करणले नै दिलाएका थिए । करणले छैठौं ओभरको चौथो बलमा ब्रेण्डन मकमलनलाई ५ रनमा आउट गराएका थिए ।
नेपालले अरु खेलमा जस्तै डेथ ओभरमा धेरै रन खर्चिन पुगेको थियो । नेपालले पछिल्लो १० ओभरमा १ सय २३ रन खर्चिएर १ विकेट लिएको थियो । नेपालका लागि करण र दीपेन्द्रले समान २ तथा ललितले १ विकेट लिए । सोमबार भएको भेटमा करण केसीको उत्कृष्ट प्रदर्शनमा नेपालले स्कटल्याण्डलाई १ विकेटले रोमाञ्चक तबरले हराएको थियो । त्यो खेलमा नेपालले निर्धारित ५० ओभरको १ बल बाँकी रहँदा २ सय ९७ रनको लक्ष्य पूरा गरेको थियो ।
सिरिजमा नेपाल र स्कटल्याण्डले दुवैको यो तेस्रो खेल हो । स्कटल्याण्ड लगातार दोस्रो जितको लक्ष्यमा छ । स्कटल्याण्डले शुक्रवार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । चौथो चरणको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाली टोलीले चौथो तथा अन्तिम खेल मंगलवार नेदरल्याण्ड्ससँग खेल्नेछ ।
८ टोली सहभागी लिग टु मा स्कटल्याण्ड १८ खेलमा २२ अंकका साथ चौथो स्थानमा छ । नेपाल १४ खेलमा १० अंकका साथ सातौं स्थानमा छ । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
लिग टु को खेल पछि असार १९१५ जुन० गते आइतवार बाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।