अनखबर

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते र १० जना बेपत्ता भएका छन् । बुधबार राति करिब ८: ४० बजे माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ घर तथा गोठ पुरिएका छन् । घटनामा १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई राति करिब ११: ५५ बजे स्थानीयवासीको सहयोगमा घाइते अवस्थामा उद्धार गरिएको थियो ।
पहिरोमा परी सञ्जय घर्ती मगर र हिमाल पुन मगर गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा ९ जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा हस्तकला रोका मगर, लिलबहादुर पुन मगर, मणि पुन मगर, जुनकुमारी पुन मगर, अशोक पुन मगर, असिम पुन मगर, अजम्बर पुन मगर, दलबहादुर पुन मगर र बलबहादुर पुन मगर रहेका छन् । घटनास्थलमा उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ । स्थानीयवासी, प्रहरीलगायतको टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ ।