काठमाडौं । रसुवा भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । मन्त्रिपरिषद्को भदौ १८ गते बसेको बैठकले रसुवा भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो ।
देशभरका सरकारी तथा गैरसरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा आज राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
रसुवा भोटेकोसी बाढीमा हालसम्म मृत्यु हुनेको संख्या एक हजार ३४२ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५३० पुरुष, ३२८ महिला तथा ४९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सार्वजनिक गरको तथ्यांकअनुसार बाढीमा ज्यान गुमाएका मध्ये ९८ जनाको सनाखत भएको छ ।
चार हजार ८९६ जना अझै बेपत्ता छन् । सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ८२७ पुरुष र ५६७ महिला छन् । विदेशी नागरिकतर्फ २६७ पुरुष, २३९ महिला सम्पर्कविहीन छन् ।
फेलापरेका शवमध्ये एक हजार ४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ । बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
बेपत्ता व्यक्तिको पहिचान तथा फेलापरेका शवको सनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ । हालसम्म मृतक एक हजार १८१ जना र मृतकका आफन्त एक हजार १९५ जना गरी दुई हजार ३७६ जनाको डीएनए नमूना संकलन गरिएको प्रहरीले जनाएको छ ।
बाढीपछि हालसम्म नौ हजार १५९ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको छ ।