अनखबर, नेपालगन्ज
नेपालगन्जस्थित भेरी अस्पतालमा दाङका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरे, त्यस घटनाले अहिले नेपालगन्जस्थीत भेरी अस्पतालमा उपचाररत विरामीलाई समेत मर्का परेको छ । गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना संक्रमित बिरामीको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए ।


उनका अनुसार मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा। चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका हुन् । मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि तनाव भएको थियो । बिरामीको अवस्था गम्भीर रहेकाले चिकित्सकले भेन्टिलेटरमा राखेर बचाउने प्रयत्न गर्दागर्दै बिरामीको ज्यान गएको उनको भनाइ छ । बिरामीको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयूकक्षमा तोडफोड गरेका छन् ।

ड्युटीमा खटिएका बेला आफूमाथि हातपात भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको अस्पतालका नर्सिङ अधिकृत शीला शर्माले जानकारी दिए । घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका छन् । घटनालगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी उपरीक्षक ओमबहादुर रानालगायतको टोली अस्पतालमा पुगेको थियो ।

अस्पतालमा कार्यरत नर्सहरूले सुरक्षाको ग्यारेन्टी र दुर्व्यवहार गर्नेलाई कारबाही हुनुपर्ने माग राखेका छन् । चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीनजना मृतकका आफन्तलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ । नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले भेरी अस्पतालमा शृंखलाबद्ध रूपमा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाले काम गर्ने वातावरण नभएको बताउँदै घटनामा संलग्न दोषीमाथि कारबाही गरी स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा निर्भिकताका साथ काम गर्ने वातावरण मिलाउन माग गरिन् ।
नेपालगन्ज । बिहिबार राती नेपालगन्ज स्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथी भएको आक्रमणको बिरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबार राती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मी कुटपिट गर्नुका साथै आईसीयूकक्षमा तोडफोड समेत गरेका थिए ।

मृतकका आफन्तहरुको आक्रमणबाट ज्यान जोगाउन डा। चन्द्रप्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे बन्दना श्रेष्ठ र आश्वीन गुरुङले पहिलो तलाबाट हाम्फालेर ज्यान जोगाएका थिए । उपचारका क्रममा मृत्यु भएका दाङका डिल्लीबहादुर रावतका भाई मानबहादुर रावत समेतले नसिंङ स्टाफको घाँटी थिचेर आक्रमण गरेपछि उनीहरु ज्यान जोगाउन पहिलो तल्लाबाट हाम्फालेका थिए ।

आफ्नो ज्यानको बाजी लगाएर कोभिड विरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको बिरोधमा नर्सिङ संघ बाँकेले अस्पताल परिसरमै प्रदर्शन सुरु गरेको छ ।

यसअघि एक विज्ञप्ती जारी गर्दै संघका बाँके अध्यक्ष लक्ष्मी केसी ओलीले बिरामीको सेवामा निस्वार्थ भावले अनवरत लागी रहेका चिकित्सक, नर्सिङकर्मी र आम स्वास्थ्यकर्मी माथि भएको सांघातिक अपराधजन्य घोर निकृस्ठ घटनाको घोर भत्सर्ना गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको बताएकी थिईन् । निरन्तर श्रृंखलाबढ ढंगले शक्तिको आडमा वा अन्य समुहबाट हुने यस्ता अपराधजन्य प्रवृत्तिका घटनामा संलग्न दोषि ब्यक्ति वा समुहलाई अबिलम्ब नियन्त्रणमा लिइ कडाभन्दा कडा कारबाही गर्न र आगामी दिनमा शान्तिपुर्ण वातावरणमा निर्भीकका साथ स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण मिलाउन नर्सिङ संघ बाँकेले माग समेत गरेको छ ।

कोरोना संक्रमणबाट सिकिस्त भएपछि दाङबाट रिपर गरेर नेपालगन्ज पठाईएका संक्रमित दाङका डिल्ली रावत गत जेठ ४ गते भेरी अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा विहीबारराती ८ बजे मृत्यु भएको थियो । विरामीका आफन्तहरुले चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाएका छन् । त्यही आक्रोसमा उनीहरुले आइसीयूमा प्रवेशगरी तोडफोड गर्नेदेखि स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।

प्रहरीले मानबहादुर सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका तीनजना मध्ये दुईजना डिल्लीका छोरा र मानबहादुर भाइ रहेको खुलेको छ ।घटना लगत्तै भेरी अस्पतालमा बसेको चिकित्सक र अस्पताल विकास समितिको पदाधिकारीहरुको बैठकमा प्रशासनले घटनामा संलग्नहरुलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

आक्रमणमा अगुवाई गर्ने मानबहादुर नेकपा एमालेका प्रदेश कमिटी सदस्य हुन् ।

घटनाको छानविन गर्न स्थानीय प्रशासनले मध्यराती सहयाक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानविन समिति बनाएको छ ।