कपिलवस्तु-२२
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको पिउने पानीमा दिसामा पाइने जीवाणु कोपलफर्म र इकोली फेला परेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार प्रभावित क्षेत्रको पानी परीक्षण गर्दा दिसामा पाइने जीवाणु फेला परेको हो ।कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले प्रभावित क्षेत्रबाट संकलन गरेको पानीको नमुनामा कोलिफर्म भेटिएको न्युज कारखानासँग बताए । कार्यालयले नेपाल खानेपानी संस्थान बहादुरगन्ज शाखाबाट वितरण गरिएको धारा, ४० फिटभन्दा माथि गाडेका चापाकल र सय फिटभन्दा कममा गाडेको कलको पानीबाट नमूना लिएको थियो । सय फिटमा गाडेको कलमा भने जीवाणु फेला परेको छैन ।
संकलित नमूना बाणगंगास्थित प्रदेश स्तरीय प्रयोगशालामार्फत संघीय प्रयोगशाला बुटवलमा परीक्षण गरिएको हो । समुदायदेखि चार नमूना संकलन गरिएको थियो । ल्याबले दिएको जानकारीअनुसार अत्याधिक मात्रा कोलिफर्म र दिसामा पाइने जीवाणु फेला परेको जानकारी आएको घिमिरेले बताए । रिपोर्टको पूर्ण विवरण बिहीबार साँझसम्म आउने स्वास्थ्य कार्यालयले जनाएको थियो। कार्यालयले प्रभावित क्षेत्रबाट संकलन गरेको दिसाको नमूना परीक्षणको रिर्पोट पनि बिहीवार रातीसम्म आउने जनाएको थियो । झाडापखालाबाट कृष्णनगरमा मंगलबार दुई जनाले ज्यान गुमाएका थिए ।
-न्यूज कारखाना