अनखबर
लेखक तथा संगीत गुरु सुरेश सेन्चुरी द्वारा लिखित एव बुटवलको रागश्री संगीतालयद्वारा प्रकाशित हार्मोनियम कोर्स पुस्तक आज लोकार्पण गरिएको छ । सेन्चुरीले संगीत क्षेत्रमा आर्जेका तीन दशक बढीको अनुभवको सानो अंशका रुपमा प्रकाशित भएको पुस्तक तीन महिने हार्मोनियम कोर्स श्रावण १२ गते लोकार्पण भएको हो ।
तीन दशकदेखि संगीत विधामा व्यवसायिक प्रशिक्षण दिँदै आउनुभएका संगीत गुरु सुरेश सेन्चुरीको “तीन महिने हार्माेनियम बेसिक कोर्स” पुस्तक सार्वजनिक भएको छ।
शनिबार नेपाल एभरेष्ट होटल इन प्रा.लि.मा आयोजित कार्यक्रममा किताव लोकार्पण गरिएको हो । उपमहानगरपालिकाका उपमेयर सावित्रा अर्याल, वरिष्ठ साहित्यकार ऋषिराम भुसाल, वरिष्ठ गजलकार बूँद राना, प्राज्ञ गोविन्द चौधरी र तिलोत्तमा नगरपालिका वडा नं.६ का वडा अध्यक्षले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभयो ।
उपमेयर अर्यालले पुस्तक अध्ययन गरेर हार्माेनियम कसरी बजाउने र गाउने भन्ने सम्बन्धी सिकाइ विद्यार्थीहरुमा थपिदै जाने बताउनुभयो। स्थानीय सरकारले संगीतको संरक्षण र विकासका लागि गर्नुपर्ने दायित्वहरुका लागि प्राप्त भएका सल्लाहसुझावहरु उपर अवश्य ध्यान पुर्याइने छ भन्दै अठोट उपमेयर सावित्राले व्यक्त गर्नुभयो । वरिष्ठ साहित्यकार ऋषिराम भुसालले “तीन महिने हार्माेनियम बेसिक कोर्स” पुस्तकले संगीत गुरु सुरेश सेन्चुरीका लामो समयदेखिको अनुभवलाई समेटेको उल्लेख गर्नुभयो।
वरिष्ठ गजलकार बूँद रानाले लेखक तथा संगीत गुरु सेन्चुरीद्वारा संगीत क्षेत्रमा गरिएको अथक, प्रशंसनीय, प्रेरणादायी र उल्लेखनीय योगदानहरुलाई सम्झनुभयो। तीन तहको सरकारमा वडा अध्यक्ष र पालिका पर्ने भएकाले सुरेश सेन्चुरी जस्ता संगीत साधकलाई स्थानीय सरकारले आवश्यक सहयोग प्रदान गर्नुपर्नेमा वरिष्ठ गजलकार रानाले नैतिक दवाब दिनुभयो ।
वरिष्ठ गजलकार रानाले बोल्ने क्रममा थप्दै संगीत सिक्न चाहेका तर अलमलिएका विद्यार्थीकालागि रागश्री संगीतालयले उचित मार्गदर्शन र प्रशिक्षण गर्न सक्षम रहेको बताउनुभयो।
लेखक सेन्चुरीले आफूलाई धेरै संगीतप्रेमीहरुले पुस्तक लेख्न बारबार प्रेरित गर्दै आएकाले पुस्तक लेखन र प्रकाशन सम्भव भएको भन्दै प्रेरणाका स्रोत सबैप्रति आभारी रहेको बताउनुभयो। संगीत विधा जटिल प्राविधिक शिक्षा भएकाले पुस्तकसँगै गुरुको पनि आवश्यकता पर्नेहुँदा पुस्तक अध्ययनसँगै गुरुको मार्गदर्शनमा मात्रै संगीत सिकाइ पूरा हुनसक्ने कुरामा लेखकले जोड दिनुभयो
हार्माेनियम बजाउन र हार्माेनियममा गाउन सिकाउने यो पुस्तक साना उमेरदेखि प्रौढ उमेरसमूहसम्मका हार्माेनियम सिक्न उत्सुक र इच्छुकहरुका लागि बोधगम्य रहेको लेखकले भन्नुभयो ।
लेखकले पुस्तकमा उच्च सावधानी र निगरानीका बावजुद केही त्रुटिहरु हुनसक्ने कुरालाई आत्मसात गर्दै सल्लाहसुझाव भइआएमा आगामी दिनमा त्यस्ता त्रुटिहरु सच्चाउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । टोलटोल र वडा वडाहरुमा संगीत प्रशिक्षण भइरहेकोमा सिकाइने कोर्सको विषयसूचीमा एकरुपता हुनुपर्ने आवश्यकतालाई महसुस गरी पुस्तक लेख्नुपरेको अर्काे कारण पनि लेखकले प्रकाश पार्नुभएको थियो ।
पुस्तक ८८ पृष्ठको छ । पुस्तकमा शुद्ध स्वरहरुको अभ्यास, पलटा, सप्तक परिचय, तीनवटै सप्तकमा शुद्ध स्वरको अभ्यास, स्वरका प्रकारहरु, तीनवटै सप्तकमा कोमल स्वरको अभ्यास, लय र केही साङ्केतिक चिह्नहरु, पाश्चात्य शैलीको अभ्यास, विभिन्न कर्डबाट सरगम बनाउने तरिका, ताल परिचय तथा अभ्यास, विभिन्न तालहरुमा सरगमको अभ्यास, श्रुति, थाट र राग, भजन, राष्ट्रभक्ति गीतहरु र लोक आधुनिक गीतहरु समेटिएका छन् । लोक आधुनिक गीत अन्तर्गत रेशम फिरिरी, सिमसिमे पानीमा लगायत १० वटा र राष्ट्रभक्ति गीत अन्तर्गत ५ वटा गीतहरु रहेका छन् । त्यसैगरी भजनमा कुन मन्दिरमा जान्छौ यात्री, एकदिन त जाने हो, दुःख संकट पार लगाउलगायत १९ वटा भजन समेटिएका छन् ।
हार्मोनियम सिकाइको प्रयोजनका लागि प्रकाशित पुस्तक दोस्रो संस्करण हो । पुस्तकको मूल्य ४५० राखिएको छ । विमोचन समारोहका बिच सांस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न प्रकारका मनोरम नृत्य, गायन र वादन पनि प्रस्तुत गरिएका थिए । साना साना बालबालिकाहरुको साङ्गेतिक प्रस्तुतिलाई सबैले मन पराएका थिए भने मम्मी डान्स पनि प्रस्तुत गरिएको थियो
विद्यार्थी तथा संगीतप्रेमीहरुले हार्माेनियम बजाउने र गाउने सपना पूरा गर्न यस पुस्तकले हार्मोनियम सम्बन्धी संगीत–ज्ञानको प्रारम्भिक जग बसाल्ने भएको छ । सुरेश सेन्चुरीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रदीप श्रेष्ठ , तिनपा–६ का वडा अध्यक्ष गणेश पाठक , वरिष्ठ गजलकार बूँद राना र वरिष्ठ साहित्यकार ऋषिराम भुसालको उपस्थिति रहेको थियो ।
तीन बजे गरिने कार्यक्रम एक घण्टा ढिला भए तापनि हलमा उपस्थिति भने बाक्लो थियो । कार्यक्रम सञ्चालन भएको केही बेरमै होटलको व्यवस्थापकीय कमजोरी एवं लापरवाहीका कारण हल भित्रका एसीले काम नगर्दा गर्मी बढे पछि आयोजक तथा दर्शकश्रोतारुलाई असहज भएको थियो । श्रोताहरु थपिने स्थानमा विस्तारै हलदेखि बाहिर जान थाले । कार्यक्रम उदघोषक छायाँ पन्त बेहोस भइ ढलेपछि मधु ज्ञवालीले स्टेज सम्हालेका थिए । हल भित्र देखिएको अहसज परिस्थितिका लागि होटल पक्षले आयोजकसँग क्षमा याचना गरेको छ भने कार्यक्रममा सहभागीहरुमध्ये केहीले हामीले पनि यो होटलमा कुनै बेला कार्यक्रम गर्दा एसीले यसरी नै काम नगरेको प्रतिक्रिया दिएका थिए ।