कैलाली, २५ पौष । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर -७ मा रहेको सुनपाल सामुदायिक वनका पदाधिकारीलाई कारबाही गर्ने नेपाल कम्युनिष्ट पार्टीको जनपरिषद्ले चेतावनी दिएको छ ।
वनका अध्यक्ष डिल्लीराज जोशी लगायतको मिलेमतोमा काठ तस्करी भइरहेको भन्दै तत्काल रोक्न परिषदले चेतावनी दिएको छ ।
जनपरिषद प्रमुख रितिकले विज्ञप्तिमा भनेका छन्, ‘कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. ७ मा पर्ने सुनपाल सामुदायिक वनका केही पदाधिकारीहरु मुख्यतः वनको अध्यक्ष डिल्लीराज जोशी काठ व्यवसायहरु दलाल राज्यका केही लुटेरा, भ्रष्टाचारी, तस्कर विभिन्न खाले माफिया र वन कर्मचारी लगायत गिरोहको मिलेमतोमा व्यापक रुपमा वन फडानी गरी अवैध रुपमा काठ तस्करी गरिएको समाचारप्रति हाम्रो गौरीगंगा नगर जनपरिषदको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ । चुरे र तराइको वन कटानी गरी मैदानी भुभागलाई गम्भीर असर पार्ने र मरुभुमिमा परिणत गराउने राज्य तथा वन कर्मचारीको कुनै पनि नीतिलाई हाम्रो जनपरिषदले खारेज गर्दै आएको जगजाहेरै छ ।’
गौरीगंगा नगर जनपरिषद्को विज्ञप्तिमा भनिएको छ,’सुनपाल सामुदायिक वनको काठ तस्करीमा संलग्न पदाधिकारीसहित अन्य संरक्षक र मतियारलाई कारबाहीको दायरामा ल्याइयोस् अन्यथा गौरीगंगा नगर जनपरिषद्ले आफ्नो प्रशासनिक संयन्त्र प्रयोग गरी दोषी उपर सशक्त जनकारबाही गर्नेकारबाही गर्न बाध्य हुने छ ।’