फागुन ९, बुटवल।दाङको बेलझुण्डीमा आयोजना हुन लागेको ‘प्रदेश एक्स्पो २०७६’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

बुटवलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं ५का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शङ्करप्रसाद खरेलले प्रदेशको समृद्धिमा टेवा पुरायाउने एक्स्पोको ध्येय रहेको जानकारी दिए ।

यही फागुन १० देखि १२ गतेसम्म एक्स्यो आयोजना हुँदैछ । उनले एक्स्पो सफल बनाउन प्रदर्शनी कक्ष, व्यस्थापन, प्रचारप्रसार, विभिन्न स्थानमा अन्तक्र्रिया, पत्रकार भेटघाटलगायतका कार्यक्रम हुने जानकारी दिए । एक्स्पोमा १२ जिल्लाका पहिचान र विशेषता झल्कने कक्ष समावेश हुने तथा १०९ स्थानीय तहले आफूले गरेका नमूना कामसमेत प्रस्तुत गर्नेछन् ।

एक्स्पोमा सरकारी र निजी क्षेत्रका गरी करिब ५०० कक्ष सहभागी हुने जनाइएको छ । ‘समृद्ध प्रदेश खुशी जनताको अभियान सफल पारौँ’ भन्ने नाराका साथ प्रदेश सरकारले सम्पादन गरेका कार्यहरु, प्रदेशभित्रका नवीनतम प्रविधि र कार्यको जानकारी दिने, योग ध्यान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय झलक, उत्पादित वस्तु तथा खाद्य सामग्रीलगायतको प्रदर्शन गर्ने उद्देश्यले प्रदेश सरकारले एक्स्पोको आयोजना गरेको हो ।

सेवाप्रवाहसम्बन्धी जानकारीमूलक प्रस्तुति, विभिन्न ठाउँका कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, स्थानीय प्रविधि र उत्पादनको प्रदर्शनी, नव प्रवद्र्धधन प्रविधिमा आधारित कक्ष एक्स्पोमा राखिने छ ।

पत्रकार भेटघाटमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले आम जनतालाई प्रदेश सरकारसंँग जोड्ने प्रदेश एकस्पोको मुख्य उद्देश्य रहेको बताए । एक्स्पोको तयारीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा मूल समारोह समिति र विभिन्न आठवटा उपसमिति गठन गरिएको हो ।