फागुन, २८ काठमाडौं ।माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले बैंक छोडेपछि नायब प्रमुख कार्यकारी सन्तोष कोइरालाले कायम मुकायम सीईओको जिम्मेवारी पाएका छन्।

चार वर्षका लागि २०७५ जेठमा प्रमुख कार्यकारी नियुक्त भएका शर्माले चैत १ गतेदेखि लागू हुनेगरि राजिनामा दिएका छन् । शर्माले पारिवारको स्वास्थ्य समस्याका कारण बोर्ड र शर्माको सहमतिका आधारमा नै बैंक छाडेको बताएको छ।

फागुन १९ गते सम्पन्न ४१५ औं सञ्चालक समितिको बैठकले कोइरालालाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

त्रिभूवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातकोत्तर र नेदरल्यान्डको कलेजबाट एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राममा डिप्लोमा उपाधि प्राप्त कोइरालासँग दुई दशक बढीको अनुभव रहेको छ।

बैंक अफ काठमाण्डूबाट बैंकिङ्ग करियर सुरु गरेका कोइराला माछापुच्छ्रे बैंकमा ७ वर्ष कार्यरत छन्। कोइरालाले दुई वर्षदेखि नायब प्रमुख कार्यकारीको भुमिका निर्वाह गर्दै आइरहेका थिए।