अनखबर डेक्स
बुटवलको मिलनचोकमा रहेको यामाहा सोरुमले सञ्चालन गर्दै आएको मोटरसाईकल मर्मत केन्द्रले सरकारी बाटो कब्जा गरी ११ बर्षदेखी व्यवसाय संचालन गर्दै आएको समाचार अनखबरले प्रमाणसहित प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछि सरकारीबाटो कब्जा गरी व्यवसाय सञ्चालन गर्दै आएका यामाहा सोरुमका सो सडकको भागलाई भत्काईएको छ । अनखबरले समाचार प्रकाशित गरेपछि बाटो कब्जा गरिएको क्षेत्र भत्काउन चौतर्फी दबाब बढेको थियो ।

बुटवलमा कान्छा बाजेको नामबाट चिनिने सालिकराम भट्राईका छोरा तेजु भट्राईले सो यामाहा सोरुम सञ्चालन गर्दै आएका थिए । बुटवल उपमहानगरपालिका साविक ११ नम्बर वडामा पर्ने सो जग्गा हाल वडा नं. ९ स्थित मनकामना टोल विकास संस्था अन्तर्गत रहेको रम्भादेवी पथको झण्डै ५०० मिटर लामो सडकको प्रवेश विन्दुमै गेट लगाई बर्षाैदेखी मोटरसाईकल मर्मत केन्द्र संचालन गरिएको विषयलाई लिएर अनखबर टिमले यससँग सम्बन्धित ९ नम्बर वडा कार्यालय, नगरपालिकास्थित न्यायिक समिति, नापी कार्यालय बुटवलबाट प्रमाणहरु संकलन गरी समाचार प्रकाशन गरेको थियो ।
यहाँ क्लिक गर्नुहोस् ।
नापी कार्यालय बुटवलको नक्शामा प्रष्टसँग बाटो उल्लेख भएको देखिने सो क्षेत्र सीट नंं ०९८११५८२५ को कित्ता नम्बर १७४ र ९ उल्लेख भएको सो क्षेत्र सरकारी बाटो कायम २०६७ सालमा नै भएको देखिन्छ । सो क्षेत्र सरकारी बाटो भएको भएर पनि ठूलो पर्खाल लगाई पानी टंकीसमेत राखी व्यवसायीक प्रयोजनमा कब्जा गरिएको थियो । सोही कारणले सो क्षेत्रका कयौं घरहरुबाट पानीको निकाशसमेत नभएको स्थानीयकले गुनासो गर्दै आएका थिए ।

लामो समयदेखी विवादास्पद रहेको सो सडकमा निकास नहुँदा नागरिकलाई ओहोरदोहोरको समस्या त थियो नै त्यसमाथी सडक स्तरोन्नती र ढलनिकाशीको लागी परेको सरकारी बजेटसमेत अलपत्र परी दुई–दुईपटक फ्रिज भएको थियो ।

बाटोको निकाश नभएर हैरानी खेपेका स्थानीयले बाटो कब्जा भएको पर्खाल भत्काएसँगै खुसी व्यक्त गरे । ‘अनखबरमा समाचार आएपछि, पर्खाल भत्कियो, अब दुवैतर्फ नाला बनाएर बाटोले आकार पाउनेमा आशावादी छौ’ एक स्थानीयले भने ‘पटकपटक भन्दासमेत अटेरि भएपछि बाटो नबन्ने भयो भन्ने लागेको थियो, तर अब भने हामी खुसी भएका छौं ।

बर्षाैसम्म सरकारीबाटो कब्जा गरेर निजी व्यवसाय संचालन गर्दा समेत मौन बसेका सरोकारवालाहरु समाचार प्रकाशित भएपछि ध्यानाकृष्ट भएका थिए । सरकारी सडक कब्जा गर्नु भनेको राष्ट्रि सम्पत्ती कब्जा गर्नु हो, राष्ट्रिय सम्पतीमाथि कब्जा गर्नेलाई मुलुकी अपराध संहिता २०७४ ले सरकारी सम्पत्तिमाथी कुनै किसिमले कब्जा गरी भोगचलन गर्न नहुने र त्यस्तो कसुर गरेमा तीन बर्षसम्म कैद वा तीस हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । ११ बर्षसम्म बाटो कब्जा गरी व्यवसाय सञ्चालन गरेका यामाहा शोरुमका संचालकलाई बाटो भत्काएपछि आममाफी हुने हो वा कानुनबमोजिम कारबाही होला त्यो भने चासोको विषय छ ।